पोर्चुगलमा सोनाम ल्होछार २८६२–बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुँदै
लिस्बन (पोर्चुगल) – नेपालीहरूको राष्ट्रिय पर्व तथा तामाङ समुदायको नयाँ वर्ष मञ्जुश्री संवत् २८६२ ता–ल्हो (घोडा वर्ग) सोनाम ल्होछारको अवसरमा पोर्चुगलमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगल कार्यसमितिको आयोजनामा ८ फेब्रुअरी २०२६ का दिन बिहान १२ बजे República da Música, Lda, Rua do Centro Cultural, 29, 1700-106 Lisboa, Portugal मा कार्यक्रम सम्पन्न हुने आयोजकले जानकारी दिएका छन्।
कार्यक्रममार्फत सोनाम ल्होछारको सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक महत्व प्रवासमा रहेका नेपाली समुदायबीच प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। यस अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक तथा संगीतकार उर्गेन दोङर, गायिका र्मला पाख्रिन तामाङको विशेष सांगीतिक प्रस्तुति रहनेछ। त्यस्तै, पोर्चुगलस्थित स्थानीय कलाकारहरूले मौलिक तामाङ सांस्कृतिक नृत्य, गीत र विविध प्रस्तुति प्रस्तुत गर्नेछन्।
आयोजकका अनुसार कार्यक्रममा पोर्चुगलस्थित नेपाली नियोगका प्रमुख, NRNA–NCC पोर्चुगलका अध्यक्ष, विभिन्न वैचारिक तथा सामाजिक संघ–संस्थाका प्रतिनिधि, पत्रकार, व्यवसायी, कलाकार र साहित्यकारको उपस्थिति रहने अपेक्षा गरिएको छ।
नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलले सम्पूर्ण नेपाली समुदाय, शुभेच्छुक र शुभचिन्तकहरूलाई कार्यक्रममा उपस्थित भई उत्सवको शोभा बढाउन आग्रह गरेको छ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश








प्रतिक्रिया