बीरगञ्जमा रोकिएन हैजा संक्रमण, शिक्षण संस्थाहरू बन्द

बीरगञ्ज । वीरगन्जमा हैजाको संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । महानगरमा हैजा संक्रमितको संख्या १ सय १४ पुगेको छ । पछिल्लो २४ घन्टाको अवधिमा संक्रमण दर घट्नुको साटो बढ्दै गएको छ । जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका अनुसार हालसम्म भएको आरडीटी परीक्षणबाट १ सय १४ जनामा हैजा पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएकाहरू वीरगन्ज महानगरपालिका–३, ११, १२, १३ र १६ का छन् । नारायणी अस्पतालमा ४३ र तराई अस्पतालमा ३८ जनामा हैजा संक्रमण पुष्टि भएको छ । नेसनल मेडिकल कलेजमा १५, भवानी, वीरगन्ज हेल्थ केयर र मंगलम प्याथोलोजीमा ३÷३ जनामा, अली अर्थो र एडभान्स मेडिकेयर अस्पतालमा २÷२ जनामा तथा नारायणी सेन्टर, नेपाल इन्डो, नीलकण्ठ, नेपाल मेडिसिटी वयोधा र सर्वोत्तम अस्पतालमा १÷१ जनामा संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले जनाएको छ ।
महानगरका विभिन्न अस्पतालमा १ सय ९९ जना झाडापखाला तथा हैजाका बिरामी उपचाररत छन् । मंगलबारसम्म २ सय २३ हैजा र झाडापखालाका बिरामी डिस्चार्ज भई घर फर्किसकेका छन् । वीरगन्ज महानगर क्षेत्रमा मात्र देखिएको हैजा अन्य पालिकामा पनि फैलिन थालेको छ । झाडापखाला लागेर पोखरिया नगरपालिकास्थित अस्पतालमा मंगलबार भर्ना भएका ४ जनामा हैजा संक्रमण पुष्टि भएको छ । हैजाको प्रकोप समुदायस्तरमा फैलिन जोखिम बढेपछि वीरगन्ज महानगरपालिकाले थप तीन दिनका लागि सबै शिक्षण संस्थाहरू बन्द गर्ने निर्णय गरेको छ । हैजाको संक्रमण फैलन थाले पछि आइतबार र सोमबार दुई दिन पनि विद्यालय र कलेज बन्द गरिएको थियो ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनामा थप तीन दिन शिक्षण संस्थाहरू बन्द गर्ने निर्णय भएको उल्लेख छ । यसैबीच महानगरपालिकाले होटल र मासु पसलहरूमा अनुगमन थालेको छ । मंगलबार महानगरको संयुक्त टोलीले मुर्ली, पानी ट्यांकी, बसपार्क र नगवा क्षेत्रमा रहेका होटल तथा मासु पसलहरूको सरसफाइ अवस्था जाँच गरेको हो । महानगरले हैजा नियन्त्रणका लागि जनचेतना कार्यक्रम, दूषित पानीको परीक्षण, संक्रमित क्षेत्रको सरसफाइ र स्वास्थ्यकर्मीमार्फत घरदैलो अभियान पनि सुरु गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया