Techie IT
  • १ भदौ २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

ओलीको भारत भ्रमण निश्चित, मोदीको निम्तो प्राप्त, कसकसलाई भेटे मिश्रीले ?


काठमाडौ । भारतीय विदेशसचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् । आज बिहान नेपाल आएका मिश्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट नेपालका समकक्षी ओलीलाई भ्रमणको निम्तो दिएका हुन् ।

प्रधानमन्त्री ओलीले निमन्त्रणका लागि मिश्रीलाई धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, प्रधानमन्त्री ओली यही भदौ ३१ गते भारत भ्रमणमा जाँदैछन् ।

सोही भ्रमणको औपचारिक निमन्त्रणका लागि मिश्री आज काठमाडौं आएका हुन् ।

दिनभर मिश्रीको व्यस्तता

२ दिने नेपाल भ्रमणको सिलसिलामा बिहान १० बजे त्रिभूवन विमानस्थलमा अवतरण गरेका भारतीय विदेशसचिव विक्रम मिस्री आइतबार दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहे । विमानस्थलबाट सोझै सिंहदरबार पुगेका उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुरुमै शिष्टाचार भेट गरेका थिए । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आएका उनले प्रधानमन्त्री ओलीको भारत भ्रमणको औपचारिक निमन्त्रण हस्तन्तरण गरेका छन् ।

प्रधानमन्त्री ओलीसँगको भेट लगत्तै उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरे । सो भेटका अवसरमा राष्ट्रपति पौडेलले एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभान्वीत हुन चाहेको बताए । उनले नेपाल र भारतबीच शताब्दिऔंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, तथा जनस्तरको निकट सम्बन्ध रही आएको र दुई मुलुकबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको उल्लेख गरे ।

राष्ट्रपतिसँगको भेटपछि बूढानीलकण्ठ पुगेर पूर्वप्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवालाई भेटेका मिस्रीले त्यसलगत्तै खुमलटार पुगेर प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका थिए ।

त्यसपछि परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँगको भेटमा मिस्रीले नेपाल भारत सम्बन्धका विविध आयामहरुको चर्चा गर्दै आपसी हित, पारस्परिक सम्बन्ध र साझा चासोका विषयहरुमा कुराकानी गरेका थिए । त्यस अवसरमा मन्त्री डा राणाले दुई देशका बीचमा पछिल्ला समयमा कनेक्टिभिटी बढाउने क्रियाकलापहरुका साथै विभिन्न क्षेत्र र तहमा द्विपक्षीय भेटवार्ता, उच्चस्तरीय भ्रमण तथा कूटनीतिक ’इङ्गेजमेन्ट’ बढेकामा पनि खुसी व्यक्त गरिन् ।

कनेक्टिभिटी नेपाल र भारतबीचको सम्बन्धमा अर्थपूर्ण रुपमा सहयोग पुग्ने र दुवै तर्फको पर्यटन एवं आर्थिक क्रियालापहरुका माध्यमबाट पारस्पारिक लाभ पुग्ने क्षेत्र भएकाले रेलवे एवं स्थलमार्गका अतिरिक्त हवाई मार्गहरुको पनि थप विस्तार गरी हवाई कनेक्टिभिटी बढाउनुपर्नेमा जोड दिइन् । साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय शहरहरूबाट थप उडान तथा अतिरिक्त हवाई रुटका लागि आवश्यक सहयोगको वातावरण बनाउने विषयमा सहयोग गर्न पनि आग्रह गरिन् । साथै नेपालगञ्ज दिल्ली सिधा उडानका लागि पनि आगामी दिनमा वातावरण तयार गर्नुपर्नेमा उनको जोड दिइन् ।

भदौ ३१ देखि असोज २ गतेसम्म प्रधानमन्त्री ओलीले भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम तय भएको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भारतको बोधगयामा भेटवार्ता हुने बताइएको छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode