Techie IT
  • १९ साउन २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

माधवलाई झलनाथको जवाफ–राजीनामा दिन्न, आफैँ छोड्नुस


काठमाडौं । नेकपा एकीकृत समाजवादीको विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको विवादले पार्टी नै संकटमा परेको छ । नेतृत्वको क्षमतामाथि खनालले प्रश्न उठाएपछि नेपालले राजीनामा दिएर पार्टी छोड्न सुझाब दिएका थिए । त्यसको जवाफमा आज खनालले आफू राजीनामा नदिने बरु नेपाल आफै बाटो लागे हुन्छ भनिदिएका छन् ।

विस २०७८ साल भदौमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो । त्यसबेला पार्टीको नेतृत्व गरेका माधव कुमार नेपाललाई एमालेका पूर्वअध्यक्ष झलनाथ खनालले पनि साथ दिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालसहितका नेताको साथ पाएका नेपाल उत्साहित थिए । अघिल्लो वर्षको असारमा अधिवेशन गर्यो र नेपाललाई अध्यक्ष अनि खनाललाई सम्मानित नेतामा निरन्तरता दियो । त्यसबेला अध्यक्षका आकांक्षी खनाल पुरानै पदमा दोहोरिन तयार भएका थिए । तर त्यसपछिका दिनमा नेतृत्वसँग खनाल रुष्ट छन् ।

अध्यक्ष नेपालले पार्टी राम्रोसँग चलाउन नसकेको, एकलौटी निर्णय गर्ने गरेको जस्ता आरोप खनालले लगाउँदै आएका छन् । पछिल्ला दिनमा जुहारी चलिरहँदा शनिवार भने खनालले संचारकर्मीमाझ नेपालको चर्को विरोध गरे । शुक्रबार नेपालले खनाललाई राजीनामा दिएर पार्टी छोड्न सुझाब दिएका थिए । त्यसको जवाफमा शनिवार खनालले आफू राजीनामा नदिने बताए । नेता खनालले पार्टी अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै कसैलाई यो पार्टी चाहिएको छैन भने आफै हिँड्न सक्ने समेत बताए । ‘पार्टी सञ्चालन गर्न सक्ने क्षमता छैन, पार्टीमा बसेर काम गर्न सक्ने क्षमता छैन भने त्यस्ता मान्छे आफै बाटो लागे हुन्छ तर झलनाथ खनालले त्यस्तो काम जान्दैन’, खनालको भनाइ छ ।

पत्रकार भेटघाटमा नेता खनालले यदि आफूले बोलेका वा लेखेका कुरामा समस्या छ भने पार्टी बैठक बोलाएर बहस छलफल गर्न सकिने समेत बताए । नेता खनालले माधव नेपालमा जस्तोसुकै सरकारमा जहिले पनि सहभागी हुने, वर्गीय हित विपरितका सरकारमा सहभागी भएर आत्मसमर्पण गर्ने, चुनावमा पनि कांग्रेस लगायतसँग साँठगाँठ गर्दा समस्या भएको बताए । साथै उनले पार्टीमा आफूले वैज्ञानिक समाजवादको विचार अघि सारे पनि त्यो विचार र दृष्टिकोण नै पार्टीले सार्वजनिक नगरेको बताए । खनालले एमालेबाट विद्रोह गरेको ४ वर्ष बितेपछि औचित्य पुष्टि गर्ने ढंगले अघि बढ्न नसकेको स्पष्ट पारे ।

‘जतिबेला यो पार्टी विग्रह वा विभाजन गरियो नि त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दैछु म’, खनालले भनेका छन्, ‘एमालेमा जुन विद्रोह गरियो त्यो विद्रोह पुष्टि नै भएन अहिलेसम्म । पुष्टि नहुनुको अर्थ गलत गरियो ।’ खनालले पूर्वराष्ट्पति विद्यादेवी भण्डारी नेकपा एमालेले पार्टी सदस्यता नदिए पनि भण्डारी कोठामै सीमित भएर बस्छिन् भन्ने आफूलाई विश्वास नलागेको बताएका छन् । ‘विद्या भण्डारी कोठामै सीमित हुनुभयो भन्ने विश्लेषणसँग म सहमत छैन’, खनालले भने– ‘एउटा राजनीतिक मान्छेले म राजनीति गर्छु, सक्रिय हुन्छु भन्छ भने उसका लागि हजार बाटाहरू हुन्छन्। एउटा बाटो मात्र हुँदैन ।’


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode