Techie IT
  • ५ माघ २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

एमालेका झोलेहरू चिन्नुहोस्, कसकसले पछ्याए ओलीलाई ?


काठमाडौ । गत शनिवार नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूलाई झोले घोषणा गरे । नेताको झोला बोकेर वा चाकडी गरेर स्वार्थ पूरा गर्ने प्रवृत्तिलाई झोलेको अर्थ लगाइरहँदा ओलीले आफैलाई झोले किन भने होलान् ? त्यो पनि बुद्धिजीवी परिषदको महाधिवेशनमा ।

‘मलाई अलिकति पनि अप्ठेरो लाग्दैन, म जनताको झोला बोकेर हिँड्ने मान्छे हुँ । जनताको हितहरूको झोला बोक्ने, जनताको हितको झोला बोक्ने, गौरवको झोला बोक्ने, परिवर्तनको झण्डा उठाउने झोले हुँ, के भयो त झोले बन्दा ?’, ओलीले भनेका थिए ।

त्यसो त ओलीले आफूलाई झोले भन्नुको व्याख्या नगरेका होइनन्, उनले आफू जनताका झोला बोकेर हिँड्ने मान्छे भएको उल्लेख गर्दै जनताका झोला बोकेर हिँड्दा अलिकति पनि अप्ठ्यारो नलाग्ने बताएका हुन् । राजावादीलाई कटाक्ष गर्ने क्रममा आफूलाई झोले घोषणा गरेका ओलीले आफूले कुनै सामन्तको झोला नबोकेको र कुनै सामन्तको दुई कौडी लिएर त्यसका पछाडि स्तुति गान गर्न नकुदेको अभिव्यक्ति दिएका थिए ।

राजावादीलाई कटाक्ष गरेर भनिएको कुरा दुई दिन नपुग्दै सामाजिक सञ्जालमा व्यानर नै बनाएर प्रचार भयो । सोमबार ओलीले नै ‘म झोले हो’ लेखिएको पोस्टर सार्वजनिक गरे । जहाँ लेखिएको छ– एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम हो ।

ओलीले आफूलाई झोले भनेपछि एमालेकै नेताहरु एकपछि अर्को गर्दै झोले बन्न तयार भए । उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ, उपमहासचिव प्रदीप ज्ञवाली, मुख्य सचेतक महेश बर्तौला, उपमहासचिव विष्णु रिमाल, सचेतक सुनीता बराल, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबे, नेता महेश बस्नेत लगायतले पनि आफूलाई झोले घोषणा गरे । आफ्नो तस्विर राखेर म झोले हो लेख्ने क्रम अझै जारी छ ।

बौद्धिक र अध्ययनशील नेता मानिने ज्ञवालीले आफूलाई झोले भन्दै गर्दा पुष्टि गर्ने प्रयास पनि गरेका छन् । ज्ञवालीले राजावादीहरुको खण्डनमा चलाइएको यो अभियानप्रति संकोच मान्न नहुने तर्क गरेका छन् । ‘प्रतिष्पर्धात्मक लोकतन्त्रका पक्षधरहरूलाई चाहिँ ‘झोले’ भन्दै खिसिट्युरी गर्ने उनीहरू चाहन्छन्– राजनीतिक कार्यकर्ताहरू, कुनै नेतालाई मन पराउने कलाकारहरू या नागरिकहरू ‘सेल्फ सेन्सर्ड’ बनून् र बोल्न छाडून्’ उनले लेखेका छन्, ‘यो दूषित मनशायलाई हुर्किन दिनुहुन्न । सामन्तको पो झोला बोक्न हुन्न, विचारको झोला बोक्न के को सङ्कोच !’

एक समय भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले “मै भी चौकीदार” भन्ने नारा सहित अभियान नै सुरु गरेका थिए । सन २०१९ मा मोदीले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलको नाम पनि परिवर्तन गरेर ‘चौकीदार नरेन्द्र मोदी’ राखेका थिए । त्यसपछि भाजपाका नेताहरूले आफ्नो ट्वीटरको डिस्प्ले नामका अघिल्तिर चौकिदार थप्न थाले । विपक्षीले नाटकको संज्ञा दिँदै अभियानको विरोध गरेका थिए ।

अहिले ओलीले पनि उनै मोदीको नक्कल गरेका त होइनन् भन्ने प्रश्न धेरैले गरेका छन् ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode