शरणार्थी प्रकरण : धमाधम पक्राउ पुर्जी, सांसददेखि सचिवसम्म फन्दामा

काठमाण्डौ । तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो । त्यसैगरी तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापालाई पनि पक्राउ अनुमति लिएर प्रहरीले खोजी गरिरहेको छ ।

नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरूविरुद्ध पक्राउ पुर्जी लिएको हो । बुधबार नै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोरा रबादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । पाण्डे २०७८ साल साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिवका रूपमा कार्यरत थिए ।

प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो । तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत रहेको गिरोहलाई हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले सहयोग गरेको पुष्टि भएको छ । गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ ।

पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको कागजातबाट पुष्टि भएको छ । यही प्रकरणका गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल पक्राउ परिसकेका छन् ।

इन्द्रजित राईका छोरा नीरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनी भने नेपालबाहिर गएको आशंका छ । गिरोहका नाइकेको बयानअनुसार राईका बाबुछोराले २०७६ असारदेखि चैतसम्म साढे ५ करोड लिएका थिए । यो प्रकरणमा हालसम्म ७ जना पक्राउ परेका छन् । नेपालीलाई शरणार्थीको नाममा अमेरिका पठाउने धन्दामा ४१ करोडभन्दा बढी ठगी भएको प्रहरीको भनाइ छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया