नेपाल र युएईबीचको खेलमा भोलि पनि पानी परे के हुन्छ ?

काठमाण्डौ । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल आजका लागि स्थगित भएको छ । मंगलबार यहि अवस्थाबाट खेल सुरु हुनेछ । टस हारेर ब्यटिङ गरेको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो । बिहान ११ बजेर ४८ मिनेटमा रोकिएको खेल सोही अवस्थाबाट मंगलबार विहान ९ बजेदेखि सुरु हुनेछ । यो प्रतियोगितामा रिजर्भ डे राखिएको थियो ।
वर्षाले सोमबार खेल हुन नसक्ने भएपछि प्रतियोगिताको नियमअनुसार म्याच रेफ्री सारिका प्रसादले रिजर्भ डेका दिन बाँकी खेल खेलाउने निर्णय गरेका हुन् । टस हारेर पहिला ब्याटिङ गरेको यूएईमाथि पहिलो इनिङ्समा नेपाल हाबी छ । खचाखच दर्शकले भरिएको त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले सुरुवातदेखि नै यूएईलाई दबाबमा राखेको थियो । चौथो ओभरको पहिलो बलमै सोमपाल कामीले मोहम्मद वासिमलाई ११ रनमा आउट गरेपछि नेपालले विकेट लिने क्रम सुरु गरेको थियो ।
त्यसको अर्को ओभरमा करण केसीले वृत्या अर्विन्दलाई ८ रनमा आउट गरि नेपाललाई ठुलो सफलता दिलाएका थिए । करणले नै आर्यन लर्कालाई १३ रनमा पहिलो स्लिपमा क्याच गराए । रमिज सेहजादलाई ललित राजवंशीले १ र पूर्व कप्तान रोहन मुस्ताफालाई सन्दीप लामिछानेले २ रनमा आउट गरेपछि यूएई १४ औं ओभरमा ५१–५ को स्थितिमा पुगेको थियो । आसिफ खान र बसिल अहमदले छैटौं विकेटमा ३९ रनको साझेदारी गरे । यो बीचमा वर्षाले खेल आधा घन्टा अवरुद्ध पारेको थियो ।
गुलशन झाको बलमा इनसाइड एज लागेर बोल्ड भएका बसिलले २७ बल खेली १ चौकासहित १० रन बनाए । आयन खानले ५ रनमा सन्दीप लामिछानेले आउट गरे । ललितले आसिफ र जाहुर खानलाई लगातार बलमा आउट गरे । त्यसपछि खेल पुनः वर्षाले अवरुद्ध हुन पुग्यो । नेपालविरुद्ध विश्वकप लिग–२ को पछिल्लो खेलमा शतक बनाएका आसिफले ५४ बलमा ४६ रन बनाए । उनले ७ चौका र १ छक्का प्रहार गरे ।
मंगलबारको बाँकी खेलमा पहिलो बल ललित राजवंशीका लागि ह्याट्रिकको अवसर हुनेछ । २८औं ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएका ललितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिकको सम्भावनासहित खेल सुरु गर्नेछन् । मंगलबार पनि मौसम खराबी रहे र खेल हुन नसके आईसीसी वरीयताका आधारमा नेपाल विजयी हुनेछ । त्यसअघि सम्भव भएसम्म सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास गरिनेछ । मंगलबार पनि नतिजा आउन नसकेमा सुपर ओभरबाट नतिजा निकाल्नु पर्ने हुन्छ । सुपर ओभर पनि वर्षाको कारण हुन नसके ओडिआई वरियताको कारण नेपाल एसिया कपमा पुग्नेछ । नेपाल ओडिआई वरियाता १४ औं र युएई १९ औं स्थानमा छन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया