एसिया कपमा पुग्न नेपालले युएईलाई हराउनुपर्ने

काठमाण्डौ । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएसँगै नेपाल फाइनलमा पुगेको छ । खेल नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो । जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण खेल रोकिएको थियो । तर त्यसपछि भारी वर्षा हुँदा सुपर ओभर पनि हुन सकेन ।
नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेका थिए । खेल हुन नसकेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो । कुवेतका ओपनर आदनान इद्रिस शून्य, रविजा सनदरुवान ९, परविन्दर कुमार १, मित भावसार ५ र मोहम्मद अस्लाम १४ रनमा आउट भए । नेपालका करण केसीले ४.३ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । सोमपाल कामीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो । निरन्तर वर्षाले प्रभावित खेलमा ८–८ ओभर घटाइएको थियो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ९४ रनको योगदान दिए । कुशल मल्ल ४४ बलमा ४ चौका र ४ छक्कासहित ५७ रनमा आउट भएका थिए । ओपनर कुशल भुर्तेलले ३९ बलमा ७ चौका र १ छक्कासहित ४३ रनमा आउट भए । अब फाइनलमा नेपाल र यूएई भिड्ने भएका छन् । यूएईले ओमानलाई डकवर्थ लुईस पद्धतिमा २ रनले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको हो । फाइनल खेल सोमबार त्रिवि क्रिकेट मैदानमा हुनेछ । विजेताले एसिया कप क्रिकेट खेल्न पाउनेछ । नेपालले उपाधि जित्न सके एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया