ओली सहभागी कार्यक्रमस्थल बाहिर झडप :ढुंगामुढा गर्नेलाई पक्राउ गरिसक्यौँ गृहमन्त्री
ललितपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रमस्थल बाहिर प्रहरी र प्रदेशको नाम कोशी राखिएको प्रति विरोध गरिरहेको समूहबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीका अनुसार एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने बुद्धशान्ति गाउँपालिकास्थित कार्यक्रमस्थलतर्फ जान खोजेपछि उनीहरुलाई १०० मिटर वरै रोकिएको थियो ।
त्यसक्रममा ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको रेग्मीले बताए । प्रहरीका अनुसार प्रदर्शनकारीहरुको ढुंगा लागेर इलाका प्रहरी कार्यालय, धुलाबारीका प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदिन राजवंशी घाइते भएका छन् । घटनामा सत्ता पक्षको घुसपैठ भएको भन्दै नेकपा एमालेले संसद् बैठकमा समेत आपत्ति जनाएको छ ।
यस्तै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी ढुंगा प्रहार गर्ने व्यक्तिहरूलाई पक्राउ गरिसकिएको बताएका छन्।प्रतिनिधि सभा बैठकमा बुधबार बोल्दै गृहमन्त्री श्रेष्ठले झापामा ओलीलाई लक्षित गर्दै ढुंगा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताए। एमाले प्रमुख सचेतक पदम गिरीले झापामा आज अध्यक्ष ओलीमाथि सत्ता गठबन्धनकै कार्यकर्ताको घुसपैठमा दुर्व्यवहार भएको संसदलाई जानकारी गराएका थिए।
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया