देउवा, प्रचण्ड र ओलीबीच महत्वपूर्ण सहमति

काठमाण्डौ । प्रमुख दलहरुबीच संसदीय समितिको नेतृत्व र संक्रमणकालीन न्याय सम्बन्धी कानून अघि बढाउने बिषयमा सहमति जुटेको छ । सिंहदरबारमा सोमबार बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकमा समितिको नेतृत्वको भागबण्डामा सहमति जुटेको हो । त्यस्तै संक्रमणकालीन न्यायसँग सम्बन्धीत विधेयक अघि बढाउन १५ सदस्यीय विशेष समिति गठन गर्न दलहरुबीच सहमति भएको छ ।
सोमबार यस विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भएको थियो ।
बैठकपछि एमाले प्रमुख सचेतक पदम गिरीले संघीय संसदको दुईवटा संयुक्त समिति मध्ये संसदीय सुनुवाईको सभापति कांग्रेस र राज्यको निर्देशक सिद्धान्त समितिको सभापति एमालेले पाउने सहमति भएको जानकारी दिए । त्यस्तै प्रतिनिधिसभा अन्तर्गतको १० वटा बिषयगत समिति मध्ये लेखा र अन्य कुनै एक समितिको सभापति एमालेले लिने सहमति भएको गिरीले बताए ।
त्यस्तै कांग्रेस मुख्य सचेतक रमेश लेखकले संसदमा भएका सवै राजनीतिक दलहरुबीच सहमतिकै आधारमा संसद सञ्चालन गर्ने सहमति भएको बताए । दलहरुबीच सहमति भएसँगै महत्वपूर्ण विधेयक अघि बढाएर संसदको चालू अधिवेशन छिटै अन्त्य गरिने उनले बताए ।
यता माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले टिआरसी अघि बढाउन बिशेष समिति गठन गर्ने र संसदको अर्को अधिवेशनको निश्चित समयभित्रै पारित गर्ने सहमति भएको जानकारी दिए । संसदीय समितिको नेतृत्वबारे विवाद समाधान भएको पनि उनको भनाइ छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया