Techie IT
  • १ चैत्र २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

काठमाडौंमा बंगलादेश दूतावासद्वारा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो


बंगलादेश दूतावास, काठमाण्डौले महान् शहीद दिवस र अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२६ श्रद्धा र उत्साहका साथ मनाएको छ । दूतावास परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरियो, जसमा छलफल सत्र र सांस्कृतिक कार्यक्रम समावेश थिए। यी कार्यक्रमले विश्वका विभिन्न भागको भाषिक विविधता र सांस्कृतिक सम्पदा झल्काएका थिए । कार्यक्रममा काठमाडौँस्थित विभिन्न दूतावास र अन्तर्राष्ट्रिय संस्थाका प्रमुख तथा कूटनीतिज्ञ, सार्क सचिवालयका प्रतिनिधि, इसिमोडका अधिकारी, भाषाविद्, प्राज्ञ, बंगलादेश बिमानका अधिकारी, बंगलादेश क्लबका सदस्य, नेपाल–बंगलादेश मैत्री संघ, नेपाल उद्योग वाणिज्य संघ, नेपाली व्यवसायी तथा नेपालस्थित बंगलादेशी समुदायको सहभागिता थियो । कार्यक्रममा नेपालस्थित कूटनीतिक समुदायले दूतावासको शहीद मिनारमा पुष्पहार अर्पण गरे। बंगलादेशका राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्र मन्त्री तथा परराष्ट्र राज्यमन्त्रीका सन्देश दूतावासका अधिकारीहरूले वाचन गरे। साथै युनेस्को महासम्मेलनका अध्यक्षको भिडियो सन्देश पनि देखाइएको थियो ।


स्वागत मन्तव्यमा बंगलादेशका राजदूतले सन् १९५२ मा बङ्गला भाषाको सम्मानका लागि ज्यान दिएका भाषा शहीदहरूलाई श्रद्धाञ्जली दिए । उनले मातृभाषा संरक्षण र प्रवद्र्धनको आवश्यकता औंल्याउँदै बहुभाषिक मातृभाषामा आधारित शिक्षाले गुणस्तरीय शिक्षा र समग्र विकासमा मद्दत गर्ने बताए । भाषा मानिसलाई जोड्ने शक्तिशाली माध्यम भएको भन्दै उनले विविधताबीच एकताको सन्देश दिए। यस वर्षको आइएमएलडीको विषय “बहुभाषिक शिक्षामा युवाको आवाज” को प्रशंसा गर्दै भाषिक विविधता प्रवद्र्धनमा युवाको भूमिकालाई महत्वपूर्ण बताए । उनले नेपाल र अन्तर्राष्ट्रिय समुदायसँग मिलेर भाषिक विविधता, सांस्कृतिक संरक्षण र समावेशी विकासका लागि बंगलादेश प्रतिबद्ध रहेको बताए ।

नेपालस्थित युनेस्को प्रमुखले विशेष अतिथिको रूपमा मन्तव्य दिए । फिनल्यान्ड, श्रीलंका, मलेसिया, रूसका राजदूत तथा युनिसेफका उप–प्रतिनिधिले आ–आफ्नो मातृभाषामा मन्तव्य दिएका थिए । साथै नेपालका संयुक्तराष्ट्रसंघका आवासीय प्रतिनिधि र भाषा आयोगका कार्यवाहक अध्यक्षले पनि सम्बोधन गरे । सबै वक्ताले अन्तर्राष्ट्रिय मातृभाषा दिवस विश्वभर मनाउन बंगलादेशको नेतृत्वको प्रशंसा गरे र मातृभाषामा आधारित बहुभाषिक शिक्षाको महत्व औंल्याएका थिए ।।

छलफलपछि बहुसांस्कृतिक सांगीतिक कार्यक्रम आयोजना गरियो। कार्यक्रममा नेपाली, नेवारी, तामाङ र बङ्गला भाषामा गीत प्रस्तुत गरियो। साथै नेपालका थारु समुदायको परम्परागत नृत्य पनि देखाइएको थियो। काठमाडौँको एक स्थानीय विद्यालयसँग सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो। नेपालस्थित बंगलादेशी समुदायका गायकहरूले पनि प्रस्तुति दिएका थिए। अन्त्यमा पाहुनाहरूले बंगलादेशी परिकारसहितको भोजन ग्रहण गरे।

२१ फेब्रुअरीको पहिलो चरणको कार्यक्रममा राष्ट्रिय झण्डा आधा झुकाइयो। त्यसपछि दूतावासस्थित शहीद मिनारमा पुष्पहार अर्पण गर्न प्रभातफेरी आयोजना गरियो। अन्त्यमा भाषा शहीदहरूको सम्झनामा विशेष प्रार्थना गरिएको थियो।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode