ओलीसँग साउती मारेर रोष्ट्रम पुगेका प्रचण्डले गरे ओलीकै कडा आलोचना

काठमाडौं । लामो समयपछि संसदको रोष्टममा उभिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमाथि भ्याएसम्मको आलोचना गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रचण्डले नीति तथा कार्यक्रम जनताको जिवनस्तरसँग जोडिएको वर्तमान यथार्थभन्दा निकै टाढा रहेको उल्लेख गरे । सरकारले नीति तथा कार्यक्रमलाई औपचारिक र कर्मकाण्डी मात्रै बनाएको उनको जिकिर छ । प्रचण्डले गत वर्ष नीति तथा कार्यक्रममाथि लोकतान्त्रिक विधिबाट व्यापक छलफल र बहस गरेर अन्तिम रुप दिन खोजिएको भएपनि यस वर्ष दुई तिहाइको दम्भका साथ सरकारले उक्त प्रक्रिया भत्काएको आरोप लगाए । प्रचण्डले आफुसंग बदला लिने भावले यसअघि सुरु गरिएका महत्वपूर्ण कार्यक्रम अहिले हटाइएको आरोप पनि लगाए ।
स्वार्थ समूह र संकीर्ण गठबन्धनको दबाबमा राज्य सञ्चालन हुनु दुःखद भएको भन्दै उनले आलोचनाको सम्मान गर्ने लोकतान्त्रिक संस्कृति कमजोर हुँदै उल्लेख गरे । प्रचण्डले सत्तारुढ पक्षका मानिसले कानुन मिच्न पाउने व्यवस्था भएको देशमा, भुइँमान्छाको घरमा विजुली काट्ने अवस्था निन्दनीय रहेको बताए । सरकारको कार्यशैलीले लोकतन्त्र नै संकटमा पारिएको उल्लेख गर्दै प्रचण्डले सरकारको असंवेदनशीलता र स्वेच्छाचारिताले प्रतिगामी शक्तिहरूलाई पुनः शिर उठाउने मौका दिएको तर्क गरे ।
हिजो सामाजिक सञ्जालमा सीमित आक्रोश भोलि सडकमा पोखिन सक्नेतर्फ ध्यानाकर्षण गराए । दश महिनाको कार्यकालमा सरकारले कुनै पनि दृष्टिले सुध्रिएको प्रमाण नदेखिएको भन्दै अध्यक्ष प्रचण्डले सरकारको गठन नै सीमित वर्गको स्वार्थका लागि भएको जिकिर गरे । प्रचण्डले दुई तिहाइ सरकारको बेलुन फुटिसकेको दाबी गरेका छन् । कांग्रेस र एमालेबीचको गठबन्धन सरकारले एक महिना बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न नसकेको उल्लेख गर्दै दुई तिहाइको अहंकार बेलुन जस्तो भएको र त्यो फुटिसकेको प्रचण्डको तर्क छ ।
प्राविधिक रुपमा अहिलेको सरकार नढलेको भए पनि जनताको मन मस्तिष्कमा सरकार ढलेजस्तो भएको बताए । त्यस्तै प्रचण्डले सरकारको नीति भूमाफिया र विचौलियामुखी भएको आरोप लगाउँदै, आत्मनिर्भर कृषि अर्थतन्त्र निर्माण गर्न उदारवादी नीतिले नपुग्ने चेतावनी दिए । त्यसअघि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रस्ताव पेश गरेका थिए । सम्बोधन अवधिभर सरकारको आलोचना गरेका प्रचण्ड रोष्ट्रममा जानुअघि ओलीसँग खासखुस गरेका थिए । प्रस्ताव पेश गरेर आसनमा जाने बेला ओली नै प्रचण्डको नजिक पुगेर साउती मारेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया