संसदमा प्रचण्डको गर्जन : राजावादीदेखि ओलीसम्म निशानामा, रविको बचाउ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा नेपालमा प्रतिक्रान्तीको तरबार चलाउन खोजिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् ।
‘इतिहासका विभिन्न कालखण्डका ती गौरवपूर्ण बलिदानलाई आज हामी सबैले अझ विवेक र कृतज्ञताका साथ स्मरण गर्नुपर्ने भएको छ । किनकि त्यो सहादतबाट प्राप्त जनताका उपलब्धिमाथि अहिले प्रतिगमन र प्रतिक्रान्तिको तरबार चलाउने सपना देखिँदैछ,’ उनले भने ।
जनताको बलिदानबाट प्राप्त उपलब्धलाई उल्ट्याउन कोसिस भइराखेको उनले दोहो¥याए । सरकार र राजावादीविरुद्ध एकैसाथ जुध्नुपर्ने स्थिति सिर्जना भएको उनले बताए । ‘एकातिर सरकारका गलत क्रियाकलातिर र अर्कोतिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नुपर्ने स्थिति सिर्जना भएको छ,’ उनले भने ।
प्रचण्डले अहिले मुलुकका सबै क्षेत्र आन्दोलनमा उत्रनु पर्ने अवस्था बनेको बताएका छन् । आफूले सरकारको नेतृत्व गर्दासम्म मुलुक सामान्य अवस्थामै रहेको तर, कांग्रेस–एमालेको नेतृत्वमा सरकार बनेको आठ महिनाभित्रै सबै क्षेत्रमा असन्तोष चुलिएको उनको भनाइ छ ।
प्रचण्डले पछिल्लो ८ महिनामा भएका सबै नीति, निर्णय र नियुक्तिमा विचौलियाको हस्तक्षेप भएको आरोप लगाएका छन् । उनले यो ८ महिनामा विचौलियाबिना भएको एउटै मात्रै उदाहरण दिन पनि आग्रह गरे ।
‘म चुनौतीका साथ भन्न चाहन्छु, पछिल्ला ८ महिनामा एउटै नीति, निर्णय र नियुक्ति मलाई भनिदिनुस् जसका पछाडि विचौलिया छैन । जम्मा एउटा उदाहरण दिए पनि हुन्छ,’ प्रचण्डले भने ।
प्रचण्डले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीहरूलाई आग्रह गरेका छन् । ‘राजावादीहरूलाई मेरो आग्रह छ– लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्,’ प्रचण्डले भने । ‘लोकतन्त्रमा मूलभूत मान्यता नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो रोजियो भने क्रान्ती फेरि एक पटक आफ्नो शक्ति देखाउने छ’ उनले चेतावनी दिए ।
प्रचण्डले राजावादीहरूको चहलपहलका पछाडि देशभित्र र बाहिरका चलखेल मिसिएको दाबी गरेका छन् । वर्षौंसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै ओर्लिएको उनले बताए ।
‘सडकबाटै राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेका छन् । राजावादीको यो चलहपहलका पछाडि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन्,’ प्रचण्डले भने ।
प्रचण्डले आफूले सदनमा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली लगातार अनुपस्थित बनेको भन्दै असन्तुष्टि पोखेका छन् । रास्वपा सभापति रवि लामिछानेलाई संसदमा उपस्थित हुन नदिइएकोमा पनि उनले आक्रोश व्यक्त गरे । प्रचण्डले भने, ‘प्रमुख प्रतिपक्ष दलका नेताले सदनमा बोल्दा प्रधानमन्त्रीको निरन्तर अनुपस्थिति घमण्ड हो कि, संस्कारहीनता हो कि कुण्ठा ? त्यसको जवाफ आफैं खोज्नुहोला ।’
प्रधानमन्त्री केपी शर्मा ओली भने अहिले काठमाडौंमा छैनन् । उनी कोशी प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा त्यता पुगेकाले संसदमा अनुपस्थित भएका हुन् । अघिल्लोपटक प्रचण्डले सम्बोधन गर्दा प्रधानमन्त्री अस्वस्थ रहेको बताइएको थियो ।
प्रचण्डले आफ्नो सम्बोधनमा फेरि एक पटक रवि लामिछानेको उनले खुलेर बचाउ गरे । संसदमा उनलाई प्रवेश दिनुपर्ने पैरवीसमेत गरे ।
प्रचण्डले भने, ‘अर्को प्रतिपक्षी दलको नेतालाई निलम्बन गरिएको छ । हिरासतमा नरहेको नेतालाई सदनमा आउन दिने प्रचलन हामीले पहिले स्थापित गरिसकेका छौं । सदनभित्रै बहस गराउँदा मात्रै लोकतन्त्र बलियो हुने हो । ठाउँ–ठाउँ घुमाएर हुर्मत लिँदा लोकतन्त्रलाई मद्दत गर्दैन ।’
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया