आईजिपीको दौडमा ३ जना-टेकबहादुर तामाङ पहिलो नम्बरमा

काठमाडौं । नेपाल प्रहरीले केही समयभित्र ३१ औं प्रहरी महानिरीक्षक (आईजिपी) पाउने भएको छ । हाल महानिरीक्षक बन्ने होडमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरू टेकबहादुर तामाङ, सुदीप गिरी र दीपक थापा रहेका छन् । तीन जनामा तामाङ पहिलो नम्बर‚ गिरी दोस्रो र थापा तेस्रो नम्बरमा छन् । तीनै जना एकैदिन २०५२ साल भदौ १० गते प्रहरी निरीक्षक सेवाबाट प्रवेश भएका हुन् । यस्तै, २०६३ भदौ १५ मा उनीहरुसहित ५१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा भएका थिए ।
२०७१ फागुन ६ गते ३५ जना प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका थिए । जसमा तामाङ र गिरी पनि बढुवामा परेका थिए । तर, थापा भने संस्थागत अनुशासनभन्दा बाहिर रहेर अधिक चलखेल गरेकै कारण २०७२ साउन ७ गते मात्रै बढुवा भएको हो । यसैगरी २०७४ सालमा थापा चितवन जिल्ला प्रमुख भएका थिए । त्यतिबेला प्रचण्डको निकट भएर स्थानीय चुनावमा रेणु दाहाललाई साथ दिएको समाचारहरु बाहिर आएका थिए ।
सोही निर्वाचनमा एमालेका देवी ज्ञवाली जित्ने सुनिश्चित हुँदाहुँदै थापाकै डिजाइनमा मतपत्र च्यात्ने र चपाउने काम भएको थियो । त्यसले गर्दा दाहाल निर्वाचित भएकी थिइन् । त्यही गुन तिर्नको लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रहरी नियमावली संशोधन गराएका थिए । नियमावलीमा ४ वर्षे अवधिको प्रावधान हुँदाहुँदै पनि ३ वर्षे कार्यावधि बनाई थापालाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गरेको थियो । त्यतिबेला ३५ जनाले ४ वर्ष कार्यकाल पूरा गरिसकेका थिए । तीमध्ये थापाभन्दा बरिष्ठ २२ जनालाई भने पदोन्नतिमा बञ्चित गरिएको थियो ।
प्रचण्ड परिवारसँग निकटतम रहेकै कारण २०७० चैतमा तामाङ र गिरीभन्दा १५ दिन अगाडि प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजीपी) बनेका थिए । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको नेतृत्व गरिरहेका एआईजी तामाङ भने संगठनको नेतृत्व सम्हाल्न अब्बल रहेको मानिन्छ । विवादरहित र इमान्दार छवि बनाएका तामाङले अपराध अनुसन्धान विभाग प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल प्रमुख, एसएसपी हुँदा विराटनगर तालिम केन्द्र प्रमुख, एसपी हुँदा जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हालिसकेका छन् ।
उनी प्रहरी नियमावली २०७१ को नियम ४१ अनुसार ज्येष्ठता, कार्यकुशलता, नेतृत्व क्षमता र उत्तरदायित्व वहन गर्ने योग्यताका आधारमा आइजिपीका लागि योग्य मानिन्छन् ।
आईजिपी कुँवरसँगै कसको अवकाश
आगामी चैत ५ मा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर अनिवार्य अवकाश पाउँदै छन् । उनीसँगै एआईजी टेकप्रसाद राई, कुबेर कठायत, दुर्गा सिंह, बुद्धिराज गुरुङ, जनक भट्टराईसहित अन्य डिआईजीहरू पनि अवकाशमा जानेछन् । प्रहरी ऐन, २०१२ को दफा १ तथा प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम, आईजीपी पदमा बढुवाका लागि नेपाल सरकारले उपयुक्त ठहर गरेको उम्मेदवारलाई नियुक्त गर्ने व्यवस्था छ । जसमा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, नेतृत्वदायी दक्षता तथा संगठनात्मक संयोजन क्षमताका आधारमा निर्णय लिइनेछ । यस पटकको आइजिपी नियुक्ति राजनीतिक र प्रशासनिक दुवै कारकहरूले प्रभावित हुने देखिन्छ । टेकबहादुर तामाङ, दीपक थापा र सुदीप गिरी तीनै उम्मेद्वारहरू आफ्नो–आफ्नो तर्फबाट प्रबल दाबेदार छन् ।
क्याटेगोरी : अड्डामा खोज मिसन, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया