दल विभाजनसम्बन्धी अध्यादेश रोक्न राष्ट्रपतिलाई विपक्षी दलको आग्रह
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदमा प्रतिपक्षमा रहेका दलका नेताहरूले भेट गरेका छन् । बुधवार राष्ट्रपति भवन शीतल निवासमा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रतिपक्षमा रहेको दलका नेताहरूले भेट गरेका हुन् । प्रतिपक्ष दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीहरूबारे राष्ट्रपतिलाई जानकारी दिएको उल्लेख गरेका छन् ।
उनीहरुले राष्ट्रपति पौडेललाई वर्तमान परिस्थितीबारे जानकारी दिएको भनेका छन् । लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह पनि गरेका छन । संविधानको मर्म विपरित र बहुलवादमा आधारित मर्म विपरितका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षकको हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
विशेषगरी सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर साना दल फुटाउन सहयोग गर्न लागेको आशंका गरेका प्रतिपक्षी दलहरुले राष्ट्रपतिलाई पनि त्यस्तो अध्यादेश आएमा जारी नगर्न आग्रह गरेका हुन् । जवाफमा राष्ट्रपति पौडेलले संविधानले आफूलाई दिएको कर्तब्य र सिमा अनुसार अगाडि बढ्ने कुरामा विश्वस्त हुन आग्रह गरे । संसदमा प्रतिपक्षमा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी आम जनता पार्टी छन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया