विपद् प्रभावित ललितपुरका चार स्थानिय तहले कति पाउँदैछन् राहत रकम ?
ललितपुर । सरकारले विपद् प्रभावित स्थानीय तहहरुलाई क्षतिका आधारमा तीन वर्गमा वर्गीकरण गरी राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
असोज १० देखि १३ गतेसम्मको भारी वर्षापछिको बाढीपहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन असोज २१ गते घोषणा गरिएका २० जिल्लाका ७१ स्थानीय तहलाई क्षतिका आधारमा सिफारिस भई आए बमोजिम प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषबाट क्रमशः अति प्रभावितलाई रु एक करोड, प्रभावितलाई रु ७५ लाख र सामान्य प्रभावितलाई रु ५० लाख विपद् व्यवस्थापन कोषमार्फत् उपलब्ध गराउने निर्णय गरिएको शुक्रबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
अति प्रभावित पालिकामा काभ्रेपलाञ्चोकको रोशी, तेमाल र बेथानचोक गाउँपालिका, पनौति र एवं नमो बुद्ध नगरपालिकालाई रु एक करोड दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
यसैगरी ललितपुर जिल्लाको अति प्रभावित महांकाल, कोञ्ज्योस्योम, बागमती गाउँपालिका र गोदावरी नगरपालिकालाई रु एक करोड दिने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
त्यस्तै ७५ लाख प्राप्त गर्ने प्रभावित गाउँपालिकामा पाँचथरको फिदिम, धादिङको धुनीबेशी नगरपालिका, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका, भुम्लु र चौँरी देउराली, खानीखोला र महाभारत गाउँपालिका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, सिन्धुलीको गोलञ्जोर र सुनकोशी गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका र उदयपुरको बेलका नगरपालिकालाई पनि रु ७५ लाख दिइने भएको छ ।
यस्तै सामान्य प्रभावित पालिकाहरुलाई ५० लाखका दरले राहत उपलब्ध गराउने निर्णय भएको सञ्चार मन्त्री गुरुङले जानकारी दिए ।
क्याटेगोरी : अड्डामा खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया