रवि लामिछाने पक्राउको विरोधमा रास्वपाको प्रदर्शन, सरकारको चर्को आलोचना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह साँधेर पक्राउ गरिएको भन्दै पोखरामा प्रदर्शन भएको छ । रास्वपाको आह्वानमा आज पोखराको मानवअधिकार चोकमा प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरूले वास्तविक सहकारी ठगीलाई कारबाहीको माग गरेका छन् भने रवि लामिछाने निर्दोष रहेको दाबी गरेका छन् । राजनीतिक प्रतिशोध बन्द गर्न समेत उनीहरुले चेतावनी दिएका छन् । प्रदर्शनमा सहभागीहरूले कांग्रेस उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको तस्बिर बोक्दै उनीहरूमाथि कहिले कारबाही हुन्छ भन्दै सरकारलाई प्रश्न सोधिरहेका छन् ।
विरोध कार्यक्रममा बोल्दै रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले संगठित अपराधी अहिलेको मन्त्रिपरिषद्मा रहेको आरोप लगाएका छन् । उनले बदलाको भावनाले सरकार अघि बढेको बताए ।
उनले भने, ‘प्रधानमन्त्रीले पार्टीका कार्यालय बनाउन स्वार्थ बाँझिने गरी व्यवसायीसँग जग्गा लिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने गिरोह संगठित अपराधी त अहिलेको मन्त्रिपरिषद्मा छन् । उनीहरुबाट ध्यान मोड्न अहिलेको यो काम भइरहेको छ ।’
अर्का उपसभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेलाई थुन्न पाए रास्वपा सकाइन्थ्यो भन्ने मनसाय कांग्रेस–एमालेले राखेको बताएका छन्। रास्वपा २१ सांसदसहित सदन छिरेपछि रोक्ने षड्यन्त्र गरेकै कारणले चितवनमा दुई पटक चुनाव गर्नुपर्ने अवस्था आएको बताए।
उनले भने,‘हामीले जनताका लागि केही गर्ने उद्देश्यका साथ हिँडेको थियौं। हामीले रवि लामिछाने एक जनाको लागि मागेका होइनौं। म आग्रह गर्छु, हामीले केही गर्न थालेको अभियानलाई रोक्न रविमाथि अप्रत्याशित ढंगले पक्राउ गरिरहेको छ।’
कार्यवहाक प्रवक्ता मनिष झाले सरकारमा रहेकाहरुले राजनीतिक प्रतिशोध साँधेर अदालतको समेत प्रयोग गरेको आरोप लगाएका छन्। पोखरामा जारी प्रदर्शनको क्रममा बोल्दै अदालत पनि नांगिएको टिप्पणी गरे।
उनले भने, ‘अदालतमा पनि पार्टीमा मान्छे छन् नत्र ७ जनामा त्यही न्यायाधिश कसरी पर्छ। ७ जनामध्ये आजभन्दा २५ दिनअघि जुन न्यायाधिशले गर्नेवाला थियो हिजो त्यही कसरी पर्छ। ६ जना बिदामा कसरी हुन्छ। सबैले भनेका छन्, हामीले मात्रै भनेका होइन। अदालत नांगियो भने हामी न्याय खोज्न कहाँ जाने। उहाँहरुले राजनीतिक प्रतिशोध कुण्ठाको लागि अदालतको पनि प्रयोग गर्दै हुनुहुन्छ।’
उनले आफूहरु वास्तविक सहकारी पीडितको पक्षमा लडिरहेको जिकिर गर्दै प्रधानमन्त्री केपी ओली र कांग्रेस महामन्त्री गगन थापाले रवि लामिछाने मात्रै देखेको टिप्पणी गरे।
सभापति लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको माइतीघरमा पनि विरोध प्रदर्शन गरेको छ । रास्वपा नेता, कार्यकर्ता र समर्थकको ठूलो संख्या माइतीघर मण्डलको सडकमा भेला भएका छन् । उनीहरुले सरकार र प्रधानमन्त्री विरुद्ध पनि नाराबाजी गरेका छन् । प्रतिशोधको राजनीति बन्द गर, नडराउ रवि दाइ जनता तिम्रो साथमा छ जस्ता नारा लगाएका थिए ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति लामिछाने पक्राउ परेपछि जिल्ला अधिवेशन तत्काललाई स्थगित गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया