प्रचण्डले सुरु गरे स्वयंसेवक परिचालन अभियान, सरकारलाई दिए यस्तो सुझाब (तस्विर)
काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्वयंसेवक परिचालन अभियान सुरु गरेको छ । बल्खुको सुकुम्बासी बस्तीबाट अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले अभियान सुरु गरेका हुन् । अभियान अन्तरगत मंगलबार प्राकृतिक विपत्तिमा परेका नागरिकको लागि राहत, पुनर्स्थापना र पुनर्निर्माण गरिनेछ ।
सो क्रममा प्रचण्डले विपद् व्यवस्थापनमा गरेको कमजोरीको गम्भीर समीक्षा गर्दै राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम युद्धस्तर अघि बढाउन आग्रह गरे । मौसमको पूर्वानुमान हुँदाहुँदै सरकार विपद् व्यवस्थापनको तयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षतिको मात्रा बढेको उनले बताए । उनले भने, ’मौसमविद्हरुले पूर्वानुमान गरिसकेका थिए आउने दुई तीन दिन भारी वर्षा हुँदैछ भनेर। मैले पार्टी र विपक्षी दलका नेताको तर्फबाट ठूलो क्षति हुनसक्छ सबै तयारी अवस्थामा रहनुपर्यो भनेको थिए सरकारलाई तर, सरकारको कुनै तयारी देखिएन ।’
उनले भने, ‘अब राहत, उद्धार, पुर्नस्थापना घाइतेको उपचारमा सरकार गम्भिर बनोस्, म गाली गर्ने पक्षमा छैन। सबै मिलेर पीडितको घाउतमा मल्हमपट्टी लगाउनुपर्छ। सरकारले जेजति कमीकमजोरी गर्यो गर्यो अब युद्धस्तरमा पीडितको पक्षमा काम गरोस्।’ प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले यो संकटको बेलामा सत्ता पक्ष विपक्ष नभनी आम जनतालाई हातेमालो गरेर राहत र पुनस्थापनामा जुट्न आग्रह गरे ।
२०७२ सालको भूकम्पको बेलामा पनि आफूले प्रतिपक्षी दलको नेताकै रूपमा संविधान निर्माण र पुनर्निर्माणको नेतृत्व गरेको उल्लेख गर्दै उनले यसपटक पनि जनताको पीडा र दुःखमा साथ दिन पूर्णरुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया