बाढी पहिरोमा मृत्यु हुनेको संख्या ७६ जना पुग्यो, ७२ जना वेपत्ता
काठमाण्डौ । अविरल बर्षासँगैको बाढी पहिरोमा मृत्यु हुनेको संख्या ७६ जना पुगेको छ । प्रकोपमा परी ७२ जना वेपत्ता र ३६ जना घाइते भएको सशस्त्र प्रहरीले शनिबार राति जनाएको छ । यस्तै देशभर १ सय ९५ ठाउँमा भौतिक क्षति भएको छ । उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुर ३ वटै जिल्लामा २३ वटा बोट र गोताखोरसहित ९० स्थानमा करीब ४ हजार जनशक्ति परिचालित भई १ हजार ४ सय ५७ जनाको सकुशल उद्धार गरिएको उनले बताए । उनका अनुसार उपत्यकामा ३४ जनाको मृत्यु, २१ जना वेपत्ता र १५ जना घाइते भएका छन् ।
यसैगरी कोशी प्रदेशको पाँचथर, ओखलढुङ्गा, धनकुटा, झापा, मोरङ, सोलुखुम्बु र सुनसरीमा गरी ८ सय ५३ जनाको सकुशल उद्धार गरिएको छ भने १ सय ५२ स्थानमा भौतिक क्षति, १० जनाको मृत्यु, ९ जना वेपत्ता र २ जना घाइते भएका छन् । मधेश प्रदेशको रौतहट र महोत्तरी जिल्लामा ५५ जनाको सकुशल उद्धार गरिएको छ भने १० स्थानहरुमा भौतिक क्षति र १ जना वेपत्ता भएका छन् । यसैगरी बागमतीको काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, धादिङ र चितवन जिल्लामा गरी ४ सय ९४ जनाको सकुशल उद्धार गरिएको छ भने ३१ स्थानमा भौतिक क्षति, २९ जनाको मृत्यु, १९ जना घाइते र ३९ जना वेपत्ता भएका छन् । लुम्बिनी प्रदेशको रुपन्देहीमा बाढिमा परी २ जना वेपत्ता भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया