सहकारीको रकम ठगेको आरोपपछि धनराजले भने– ममाथि छानबिन होस्
श्रीमतीले गरेको दोषमा म भागिदार हुन्न
काठमाण्डौ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि सहकारीको रकम ठगीको आरोप लागेपछि संकटमा परेका छन् । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरुले उनीमाथि निरन्तर प्रश्न उठाउँदै छानबिनको माग गरिरहेका छन् । आज नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले सहकारीको रकम पचाउन गुरुङले ‘सहकारी सम्बन्धबिच्छेद’ गरेको टिप्पणी गर्दै छानविनको माग गरे । गुरुङ केहि समयअघि सम्बन्धबिच्छेद भएको भनिएको श्रीमतिसंग देखिएको भन्दै १४ करोड पचाउनका लागि गुरुङले कानूनी रुपमा सम्बन्धबिच्छेद गरेको दाहालले आरोप लगाए ।
उनले सहकारी छानविन समितिमा गुरुङले सहकारी ठगि गरेको प्रयाप्त प्रमाणहरु जुटेको भन्दै कारवाहीका लागि सिफरिस गरिने बताए । त्यसो त प्रायः आफ्ना अध्यक्ष रवि लामिछानेलाई कांग्रेसले सहकारी ठगीको आरोपमा पटक पटक सदन अवरुद्ध गरेपछि आक्रोशित भएका रास्वपा सांसद्हरुले पनि धनराज गुरुङमाथि निरन्तर प्रश्न उठाउँदै आएका छन् । रास्वपा सांसद गणेश पराजुलीले सोमबार नै गुरुङ र उनकी श्रीमतीविरुद्ध छानबिनको माग गरेका थिए ।
आफूमाथि निरन्तर प्रहार भएपछि उपसभापति गुरुङले छानविन गर्न चूनौति दिएका छन् । सहकारी छानविन समितिको प्रतिवेदन आउनै लाग्दा आफुमाथि आरोप लगाएर बिषयान्तर गर्न खोजिएको गुरुङको आरोप छ ।
उपसभापति गुरुङले आफूमाथि आशङ्का भए तत्काल छानबिन गर्न पनि सरकार र संसद्को ध्यानाकर्षण गराए । उनले भने, ‘संसदीय छानबिन नै गर्नुपर्छ भने पनि म तयार छु । मेरो लागि यो सुवर्ण अवसर हुनेछ । तथापि प्रमाण लुकाउन सक्ने गृहमन्त्री जस्तो जिम्मेवार पदमा म छैन सभामुख महोदय । म निष्ठा र नैतिकताको राजनीतिमा विश्वास गर्दछु । मेरा बारे लागेको आरोपको सत्य, तथ्य छानबिन गरिदिन म सम्माननीय सभामुख, माननीय गृहमन्त्रीजी, अनि सम्बद्ध निकायहरूलाई आग्रह गर्दछु । विगतमा पनि कुनै आरोप लाग्दा सम्मानित अदालतबाट निर्दोष साबित भएको स्मरण गराउन चाहन्छु । सहकारी ठगी सम्बन्धी प्रतिवेदन आउन लागेको अन्तिम समयमा विषयवस्तुलाई अन्तै मोड्न रचिएको यो घटनाको छिटो भन्दा छिटो छानबिन गर्न माग गर्दछु ।’
सहकारीकै कारण निकै अघिदेखि सम्बन्ध बिग्रिएर २०७६ सालमा श्रीमती ज्योती गुरुङसंग सम्बन्ध बिच्छेद गरेको उनले जिकिर गरे । उनले सम्बन्ध विच्छेद भएकी श्रीमतीले गरेको दोषमा आफू भागिदार नहुने धारणा राखे । उनले भने, कुनै व्यापार व्यवसायमा श्रीमान वा श्रीमती दुईमध्ये एकजना जोडिदा एकैठाउँमा राखेर हेर्ने हाम्रो प्रचलन छ। तर, त्यसकारण मलाई त्यसमा जोड्न खोज्नु अनौठो होइन। तर, भूतपूर्व श्रीमतीलाई त्यसरी जोड्ने कुरा व्यवाहारिक कानूनी र नैतिक दृष्टिले पनि मिल्दैन।
आफूले आफैमाथि छानबिनको माग गरिरहँदा कांग्रेसकै महामन्त्री गगन थापाले पनि धनराजमाथि निष्पक्ष छानविन गर्न माग गरेका छन् । कांग्रेसका कुनै नेतामाथि प्रश्न उठिसकेपछि छानविन हुनुपर्ने पार्टीको नीति रहेको थापाले स्पष्ट पारेका छन् । उनले भने, ‘उहाँ आफैंले सदनमा जस्तोसुकै छानबिनको सामना गर्छु भनिसकेको अवस्थामा अब अनुसन्धानमा ढिलाइ गर्न हुँदैन । कुनै पनि प्रकरणमा कानूनको उलंघन गरे दोषीले उन्मुक्ति पाउन हुँदैन ।’
धनराजकी श्रीमती ज्योति गुरुङ ललितपुरको मितेरी सहकारीको महाप्रबन्धक रहेका बेला रकम हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी परेको छ । ज्योतिले १४ करोड ८१ लाख रकम दुरुपयोग गरेको र त्यसमा धनराजको पनि संलग्नता रहेको भनी उक्त रकम उठाउने वातावरण बनाइदिन प्रहरीमा उजुरी परेको हो ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया