Techie IT
  • २३ मंसीर २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

२ वर्ष नपुग्दै राजीनामा दिने ओलीको घोषणा, कर्मचारीलाई दिए कडा निर्देशन


काठमाण्डौ । दुई वर्षका लागि प्रधानमन्त्री बनेका केपी ओलीको सक्रियता पनि बढेको छ । कांग्रेस र एमालेबीच १७ असारमा भएको सातबुँदे सहमतिमा २ वर्ष ओली प्रधानमन्त्री हुने र कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने उल्लेख छ । सोही अनुसार २ वर्ष पुग्नभन्दा एक हप्ता अगाडि नै राजीनामा दिने स्पष्ट पारेका छन् ।

मंगलबार सिंहदरबारमा मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा सङ्घीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिने क्रममा ओलीले कांग्रेससँगको सम्झौता पालना गर्ने प्रतिबद्धता जनाएका हुन् ।

ओलीले आफू २ वर्ष पुग्नुभन्दा एक हप्ता अघि राजीनामा दिने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेर चुनावसम्म जाने बताए ।

‘मेरो नेतृत्वको सरकार २ वर्ष चल्ने हो । २ वर्ष पुग्नुभन्दा एक साता अघि नै मैले राजीनामा गरिसकेको हुन्छु । गर्छ कि गर्दैन भन्ने कुनै दुबिधा हुँदैन’, प्रधानमन्त्रीले भने, ‘त्यसपछि शेरबहादुर देउवाजीको नेतृत्वमा चुनावसम्म जाने हो । यसमा ढुक्क भए हुन्छ सरकार कुनै प्रकारको दाउपेच छिर्के लगाएर र मन्त्री बन्न होइन ठुला पार्टीले बुझेर बनाएको हो । ढल्ने त के ढलपल पनि हुँदैन ।’

शान्ति, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्ने, जनतालाई सहज रुपमा सेवा प्रवाह गर्दै देशको बिकासका लागि सरकार बनेको भन्दै ओलीले कर्मचारीतन्त्रबाट सहयोगको अपेक्षा गरेका छन् । ओलीले जनताका काममा कुनै ढिलासुस्ती र डुप्लीकेसन आउने गरी काम नगर्न निर्देशन दिएका छन् ।

उनले मन्त्रालयमा कतिपय समितिहरू बन्ने तर ती समितिहरूले काम नगर्ने प्रवृत्तिको अन्त्य गर्न निर्देशन दिए । ‘समितिहरू बन्छन्, त्यसमा ५÷६ जना सचिव र सहसचिव रहन्छन् तर त्यहाँ काम हुँदैन’, उनले भने, ‘मन्त्रीले सचिवलाई वा क–कसलाई अधिकार दिनुपर्छ अधिकार प्रत्यायोजन गर्ने, देश र जनताको हितको पक्षमा संविधान अनुसार काम गर्ने ।’

प्रधानमन्त्री ओलीले सरकारले देश र जनताका लागि काम गर्ने भन्दै सरकारको नेतृत्व फेरिन्छ कि भन्ने भयका साथ फाइलमा हस्ताक्षर नगर्ने प्रवृत्तिलाई अन्त्य गर्न पनि निर्देशन दिएका छन् । छलफलमा ओलीले सबै मन्त्रीलाई पनि सय दिनमा आफूले गर्ने कामहरूको योजना बनाउन निर्देशन दिएका छन् ।

कानुनहरू नियन्त्रात्मक र निषेधात्मक भएको भन्दै कानुन बनाउन र कार्यान्वयन गर्दा जनतालाई अनुकूल हुनेगरी बनाउनु पर्नेमा प्रधानमन्त्रीको जोड छ । साथै उनले अनुसन्धान विभागलाई पनि प्रभावकारी बनाउनुपर्ने बताए ।

प्रधानमन्त्रीको निर्देशन र सुझाबपछि सचिवहरुले त्यसलाई पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्रीको निर्देशन सुनेपछि मुख्यसचिव लिलादेवी गड्तौलाले काम गर्नका लागि पाएको अवसरलाई सदुपयोग गर्दै सरकारलाई भरपुर साथ दिने बताइन् ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode