अविरल वर्षापछि देशभरको जनजीवन प्रभावित : कहाँ के भयो ?
काठमाण्डौ । अविरल वर्षापछि देशभरको जनजीवन प्रभावित भएको छ । अधिकांश क्षेत्रमा पहिरो गएको छ भने काठमाडौंसहित तराईका जिल्ला डुबानमा परेका छन् । काठमाडौंमा बागमती, विष्णुमती लगायतका नदीमा बाढी आएको छ । बाढीका कारण करिडोर सडक प्रभावित हुनुका साथै बस्ती वरीपरिका वस्तीहरु नराम्ररी प्रभावित भएका छन् । राजधानीको गौरीगाट, युएन पार्क, थापाथलीलगायतका स्थानमा कतिपय घरहरुमा समेत बाढी पसेका छन् । यस्तै सुकुम्बासी बस्तीहरुमा पनि बाढीले बेहाल भएको छ ।
बाढीका कारण करिडोर सडकहरुमा सवारीआवागमन अवरुद्ध बनेको छ भने नदी किनारमा बनाइएका पार्कहरु पनि बगाएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार खोकना, ललितपुर बाढीमापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको छ । बाढी भीषण रहेकाले बागमतीको नदी तटीय क्षेत्रमा रहनेले आज दिउँसो सम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हनुमन्ते खोलामा बाढी
विगत १४ घन्टादेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ । भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ । भारी वर्षाका कारण हरेक वर्ष हनुमन्ते नदीको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनारका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारको जडीबुटीस्थित सुकुम्बासी बस्तीलगायतको क्षेत्र डुबानमा पर्दै आएको छ । सो क्षेत्रका बासिन्दालाई सचेत र सुरक्षित रहन आग्रह गरिएको छ । वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न प्रशासनले सुरक्षा तह, चारवटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई तयारी अवस्थामा राखेको छ । जिल्लास्थित विपद् व्यबस्थापन समितिमार्फत सुरक्षा तहदेखि जनस्तरसम्म गाउँगाउँमा खोज तथा उद्धार टोली, आवश्यक राहत सामग्री तयारी अवस्थामा राखिएको छ । कुनै पनि ठाउँमा बाढी पहिरोको जोखिम परेमा वा घटना भएमा तत्काल टोली पुगेर उद्धारमा खटिने उनले बताइन्। बाढी पहिरो आउन सक्ने जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । भक्तपुरमा बाढी र पहिरोको उच्च जोखिम क्षेत्रको पहिचान गरी तत्काल खोज तथा उद्धारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको छ । भक्तपुर नगरपालिकाको हनुमन्ते नदी किनारका बस्ती, मनोहरा नदी किनारका करिब ६ सय ५० घर बाढीको जोखिममा छन् । चाँगुनारायण, सूर्यविनायकका केही क्षेत्र पहिरोको जोखिममा रहेका बताइएको छ ।
नारायणीमा बाढी
अविरल वर्षाका कारण चितवनको नारायणी र राप्तीलगायतका नदी तथा खोलाहरुमा बाढीले उग्र रुप लिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीमा आएको बाढीले खतराको तह नाघेपछि खतराको घण्टी बजाइएको छ । देवघाटमा गरिएको मापनअनुसार बाढीले खतराको तह नाघेको हो। देवघाटमा बाढीको सतह निकै माथि पुगेको छ । बाढीको सतह ८ मिटरलाई खतराको तह मानिन्छ। नारायणीमा बाढीको सतह अझै बढ्दो छ। भरतपुर महानगरपालिका २३, २७ र २५ मा नदी कटानको जोखिम बढेको छ । केही स्थानमा नदीले कटान सुरु गरिसकेको छ। जिल्ला विपद व्यवस्थापन समितिको बैठकले नदी कटान र डुबान भएको स्थानमा तत्काल तटबन्धन गर्ने र डोजर, एक्साभेटर र क्रेन तयारी अवस्थामा राख्ने निर्णय गरेको छ। खोज तथा उद्धारका सामग्री स्थानीय तहले व्यवस्था गर्ने र सडक अवरुद्ध भए सुरक्षा निकायले तत्काल खुलाउने निर्णय भएको छ । आपतकालीन औषधिको व्यवस्था गर्न स्वास्थ्य कार्यालयलाई भनिएको छ । त्यसैगरी अस्थायी आश्रयस्थलको व्यवस्थापन गर्न स्थानीय तहलाई भनिएको छ ।
राप्ती नदीमा ३ जना फसेपछि…
दाङको राप्ती नदीमा आएको बाढीमा फसेका मध्ये एक जना बेपत्ता भएका छन् भने दुई जनाको सकुशल उद्धार गरिएको छ । लमही नगरपालिका ७ हस्नापुरस्थित राप्तीको बाढीमा तिन जना फसेका थिए । दूध बिक्री गर्न लमही गएका तीनजना मध्ये राजपुर गाउँपालिका २ का १८ वर्षीय राजकुमार यादव फर्किने क्रममा बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले राजपुर २ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरेको प्रहरीले जनाएको छ ।
काभ्रे डुबान
काभ्रेको गौरव बल्थली स्थित लड्केश्वर धाम क्षेत्र बाढिले डुबानमा पारेको छ । लगातारको वर्षापछि आएको बाढीले लड्केश्वर धाम लगायत, बनेपास्थित पुलबजार क्षेत्र पनि डुबानमा परेको छ । पुलबजार क्षेत्र डुबानमा परेकाले अरनिको राजमार्गमा सवारी आवगमनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ । वर्षाका कारण पुण्यमति खोलामा पानीको बहाव बढेर सडकमा पुगेको छ । अरनिको राजमार्ग भएर गुड्ने साना सवारी साधनलाई समस्या भएको छ । वर्षाका कारण धनेश्वर पुल, इट्टाभट्टाको रेशम मार्ग क्षेत्र पनि डुबानमा परेको छ । त्यस्तै, बाढीकै कारण काभ्रको रोशी गाउँपालिकास्थित तालढुंगा क्षेत्रमा बाढी आउको छ ।
वीपी राजमार्गमा पहिरो
लगातारको वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएपछि वीपी राजमार्ग अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ८, ९, ११ र १२ मा लेदो सहितको पहिरो जाँदा आवतजावतमा समस्य भएको छ । गएरातिदेखिको पानीका कारण पहिरो जाँदा पूरै राजमार्ग अवरुद्ध भएको छ । स्थानीय निकायसँगको समन्वयमा अहिले पहिरो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यस्तै पहिरोले पाल्पाको सिद्धार्थ राजमार्गका झण्डै सात ठाउँमा पहिरो खसेको छ । जसमध्ये २ ठाउँको पहिरो भने हटाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उता, भोटेकोशी आयोजनाको सुरुङमा पूरिएका मध्ये २ जनाको शव भेटिएको छ । घाइते १२ जनाको उपचार भैरहेको छ ।
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया