लिग २ मा नेपालको लगातार पाँचौ जित, पिएनजी पराजित
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले आज पुवा न्युगिनीलाई चार विकेटले पराजित गरेको छ । आजबाट सुरु सिरिजको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको हो । पीएनजीले दिएको २ सय ४ रनको लक्ष्य नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ६९ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेले । कुशलले ५ चौका प्रहार गरेका थिए । अर्का ओपनर आसिफ शेखले ४४ रन बनाए । दुई ओपनरका बीचमा ७६ रनको साझेदारी भएको थियो । मध्येक्रमका ब्याटर आरिफ शेखले ६२ बलमा ३८ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरेका थिए । कप्तान रोहितकुमार पौडेलले २० रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनाएको हो । नेपालका लागि गुलशन झाले ३ तथा कुशल मल्लले २ विकेट लिए । करण केसी,सोमपाल कामी,प्रतिश जी।सीको नाममा समान एकएक विकेट रह्यो । २०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो । जितसँगै नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया