जिल्ला अदालतको फैसलाविरुद्ध सन्दिप लामिछाने उच्च अदालतमा, जेलबाहिर बसेर मुद्दा लड्न पाउने
काठमाण्डौ । सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसलाविरूद्ध पुनरावेदन गरेका छन्। उनले थुना बाहिरै बसेर यो मुद्दामा पुनरावेदन गरिपाऊँ भन्दै निवेदन दिएका थिए। सोहीअनुसार लामिछानेले तत्काल जेल जानु नपर्ने भएको छ ।
कानूनी व्यवस्था अनुसार उच्च अदालत पाटनबाट सन्दीपले जेल बाहिर बस्न मुद्दा लड्न लिखित अनुमति पाएका छन् । उच्च अदालतमा केही बेरअघि सन्दीपको पुनरावेदन दर्ता भएको हो । मुद्दा दर्तासँगै उच्च अदालतका रजिस्टारले उनलाई जेल बाहिर बसेर मुद्दा लड्न अनुमति दिएको हो ।
पुनरावेदनपछि सन्दीपका कानून व्यवसायी सरोज घिमिरेले फैसला चित्त नबुझेर पुनरावेदनमा गएको बताए । जिल्ला अदालतले दोषि ठहर गरे पनि कुनै पनि तथ्य प्रमाणबाट यो पुष्टि हुन नसक्ने उनको भनाइ छ । उच्चले न्याय दिनेमा पूर्ण विश्वास रहेको उनले बताए ।
मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ अनुसार सन्दीपले यस्तो अनुमति पाएका हुन् । जसअनुसार १० वर्षभन्दा कम कैद सजायमा ‘थुनामा नबसी मुद्दाको पुनरावेदन गर्न पाउँ’ भनि निवेदन दिन सकिन्छ । पुनरावेदन सुन्ने अदालतका रजिस्टारले यस्तो अनुमति दिन सक्ने व्यवस्था छ ।
जिल्ला अदालत काठमाडौंले कमजोर आर्थिक अवस्थाकी आफ्नी खेल समर्थकलाई आफ्नो हैसियतको दुरूपयोग गरेर लामिछानेले बलात्कार गरेको फैसला सुनाएको थियो।
उनलाई आठ वर्ष कैद सजाय तोकेको थियो। जिल्ला अदालतले तीन लाख रूपैयाँ जरिवाना र पीडितलाई २ लाख रूपैयाँ क्षतिपूर्ति भराउन पर्ने ठहर पनि गरेको थियो।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया