कार्यकर्तासँग प्रचण्डको आक्रोष : १७ हजारको हत्याराको आरोप लाग्दा किन चुप ?
काठमाण्डौ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो उदेश्यप्रति माओवादी पङ्ती उदाशिन देखिएको बताएका छन् । सहिद प्रतिष्ठान नेपालको १४औँ वार्षिक साधारणसभालाई शनिबार माओवादी मुख्यालय पेरिसडाँडामा सम्बोधन गर्दै दाहालले अहिले खुलेआम माओवादी आन्दोलनलाई चूनौति दिदा पनि प्रतिवाद गर्न नसकेको भन्दै असन्तुष्टी व्यक्त गरे ।
माओवादीलाई १७ हजारको हत्यारा भन्ने बेइमानीपूर्ण र झुट भाष्य बनाइएको र यसले सहिदहरुकै अपमान भएको भन्दै उनले त्यसको प्रतिवाद गर्नुपर्ने धारणा राखे । प्रधानमन्त्रीले भने–आज हामीलाई कस्ता कस्ता मान्छेले हेप्दैछन् ? १७ हजार भन्ने भाष्य, यति झुट बेइमानीपूर्ण, आपराधिक प्रचार खुलेआम हाम्रो अगाडि गरिएको छ । तर हामी प्रतिवाद गर्ने आँट गर्दैनौँ । १७ हजार प्लस २ भनेर एउटा मान्छे ब्यानर बोकेर उभिएको छ । तर हामीले प्रतिवाद नगर्ने ?
आफु प्रधानमन्त्री भएपछि सहिद, बेपत्ता तथा घाइतेका परिवारलाई राज्यले सहयोग गरेकाले त्यसलाई सिङ्गो पार्टी पङ्क्तिले आत्मबोध गर्नुपर्ने उनको भनाई छ । प्रधानमन्त्रीले सरकारले करिब ३ हजारलाई छिट्टै सहिद घोषणा गर्नका लागि प्रक्रिया अघि बढाएको भन्दै जनयुद्धका क्रममा ज्यान गुमाएका सवैलाई घोषणा गरिने जानकारी दिए । शान्ति प्रक्रियाका बाँकी काम चाँडै सम्पन्न गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्री उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिमै टुङ्गिने जिकिर गरेका छन् ।
उनले जनयुद्ध दिवसमा बिदा दिने निर्णय अदालतबाट खारेज भएको कुरा एकै पटक मिडियाबाट थाहा पाउनुपरेको भन्दै सतकर्ततापूर्वक अघि बढ्नुपर्ने अवस्था रहेको बताए ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया