बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार !

धनुषा । विशेष अदालतले ’बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको भन्दै मुख्यमन्त्री कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, सीडीई भगवान झालाई दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरको इजलासले उनीहरूलाई ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनही १० करोड ३३ लाख ७५८ रुपैयाँ बिगो दाबी गर्दै उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले उक्त अभियानअन्तर्गत छात्राहरूलाई साइकल दिने अभियान सञ्चालन गरेका थिए। साइकल खरिदमा अनियमितता भएको सूचनापछि केही समयअघि आयोगको टोलीले मुख्य मन्त्रीको कार्यालयमा छापासमेत मारेको थियो ।
उक्त कार्यक्रममा अनियमितता भएको, साइकलको कम्पनी नखुलाई साइकल किनी ३ महिनादेखि गोदाममा राखिएको भन्ने उजुरी परेको थियो । सार्वजनिक खरिद ऐन २०६३, नियमावली २०६४ र सार्वजनिक खरिद अनुगमन निर्देशिकामा भएका प्रावधानको पालना नगरी सम्झौताअनुसार अम्बिका ब्रान्डका साइकल आपूर्ति हुनुपर्नेमा सम्झौताविपरीत ब्रान्ड नखुलेका कमसल तथा गुणस्तरहीन लेडिज साइकल खरिद गरिएको अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।
तत्कालीन प्रदेश सचिव भुसालले प्रमाणित गरेको भण्डार दाखिला प्रतिवेदन गलत तबरबाट तयार गरिएको र गलत लिखत भएकाले सझौताबमोजिमको साइकल प्राप्त हुनुपर्नेमा ब्रान्ड नखुलेको साइकल स्वीकार गरी गतल स्टोर दाखिला तयार गरी भुक्तानी गरेको पाइएको थियो ।
त्यस्तै सीडीई झामाथि तत्कालीन मूल्यांकन समितिको सदस्यसमेत रहेर फरक गुणस्तरको साइकल ल्याउनमा भूमिका खेलेका आरोप लागेको थियो ।
मधेश प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानका लागि खरिद भएका साइकलको गुणस्तरमाथि प्रश्न उठेको थियो । प्रदेशका छात्राहरूलाई विद्यालय जान भनी कम्पनी नखुलाई खरिद गरिएको साइकल खरिदमा १० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको दाबी अख्तियारको थियो ।
विशेषका अध्यक्ष अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू न्यायाधीश तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासबाट यस्तो फैसला आएको हो । फैसलामा मधेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव यमलाल भुसाल र जलस्रोत, सिँचाइ तथा विकास डिभिजन कार्यालय जनकपुरकाका तत्कालीन प्रमुख भगवान झालाई दोषी ठहर गर्दै तीन–तीन महिना कैद फैसला भएको छ । साथै, दुवैलाई दश–दश हजार रुपैयाँ जरिवानाको पनि फैसला भएको छ ।
उक्त इजलासले चौथो दिनको सुनुवाइपछि फैसला सुनाएको हो । ८ माघदेखि लगातार तीन दिनसम्म सुनुवाइ भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको विषयमा एकै मितिमा दुईवटा मुद्दा दायर गरेको थियो। १८ साउन ०७९ मा ती मुद्दा दायर भएका थिए ।
पहिलोमा यामप्रसाद भुसाल, भगवान झा, राजाराम मण्डल, रामस्वार्थ महतो, जितमोहनकुमार दास, रेनु अग्रवाल, श्री ओम सत्यसाई प्राइभेट लिमिटेड प्रतिवादी थिए ।
भुसाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामका तत्कालीन प्रदेश सचिव हुन् भने झा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय जनकपुरका प्रमुख हुन् । यसैगरी, सहलेखापाल राजाराम मण्डल, भण्डार तथा जिन्सी शाखा प्रमुख रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जितमोहनकुमार दास, रेनु अग्रवाललाई पनि प्रतिवादी बनाइएको थियो ।
बोलपत्र मूल्यांकन समितिका पदाधिकारी तथा सदस्यहरू उपसचिव दिलीपकुमार प्रधान, अधिकृत सुरेन्द्रकुमार कर्ण, सहलेखापाल राजाराम मण्डल र भगवान झामाथि पनि अख्तियारले मुद्दा दायर गरेको थियो। यसमा भने सबैले सफाइ पाएका छन् ।
यसैगरी, अर्कोमा भगवान झा, दिलीपकुमार प्रधान, सुरेन्द्रकुमार कर्ण, राजाराम मण्डल प्रतिवादी थिए। उनीहरू चारैले मापदण्ड नपुग्दासमेत बदनियतपूर्ण भूमिका खेलेकाले मुद्दा चलाएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया