आजदेखि मेलम्चिको पानी पुनः वितरण, प्रचण्डले गरे शुभारम्भ

काठमाण्डौ । काठमाडौंवासीका घरमा आजदेखि पुनः मेलम्चीको पानी वितरण गरिएको छ । मेलम्चीको पानी चौथोपटक उपभोक्तालाई वितरण गरिएको हो । मेलम्चीको पानी पुनर्वितरणको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबार भित्रै कार्यालय परिसरको धारा खोलेर उद्घाटन गरेका हुन् । दाहालले समानुपातिक, सुरक्षित र तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ताको धारामा वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । केही वर्षभित्रमा अर्को चरणमा काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ता सदस्यहरूको धारामा वितरण गरिने व्यवस्था मिलाउनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका हुन ।
बाढी र पहिरोले मेलम्चीको मुहान क्षेत्र र हेडवक्र्स लगायतका क्षेत्रमा क्षति पुर्याएपछि पानी वितरण पूर्णरुपमा बन्द भएको थियो । समस्या समाधान गरेर पानी वितरण गर्न सफल भएपछि खानेपानीमन्त्री महिन्द्र राय यादवले पर्याप्त पानीको व्यवस्थाका लागि अन्य विकल्पको पनि अध्ययन भइरहेको जानकारी दिए ।
स्वर्गीय कृष्णपसाद भट्टराईले २०४८ सालको निर्वाचनका बेला नै मेलम्चिको पानी काठमाण्डौमा ल्याएर वितरण गर्न सकिने बताएका थिए । तर २०५५ सालमा मात्रै मेलम्ची खानेपानी विकास समिति गठन गरिएको थियो । सोही मितिलाई आधार मान्दा आयोजना निर्माण सुरु भएको २२ वर्षपछि अर्थात् २०७७ साल फागुन २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजलमा मेलम्चीको पानी प्रवाहको उदघाटन गरेका थिए । त्यसको एक महिनापछि चैत २० गते पहिलोपटक मेलम्चीको पानी काठमाडौंमा झारिएको थियो ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर मेलम्चीको पानी वितरण शुभारम्भ गरेकी थिइन् । तर पानी वितरण अघि गर्नुपर्ने थुप्रै काम बाँकी भएकाले धारामा पानी आउन केही दिनमै बन्द भएको थियो । सोही वर्षको जेठ मसान्तमा आएको ठूलो बाढी र पहिरोले मेलम्चीको मुहान क्षेत्र र हेडवक्र्स लगायतका क्षेत्रमा क्षति पुर्याएपछि पानी वितरण पूर्णरुपमा बन्द भएको थियो । त्यसको मर्मत गरी २०७९ मंसिर २३ गते तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले पुनः महाँकाल केन्द्रबाट मेलम्चीको पानी वितरण शुभारम्भ गरेका थिए । प्रधानमन्त्री दाहालले माघ १ गते चौथो पटक मेलम्चीको पानी वितरणको उदघाटन गरेका हुन् । मेलम्चि खानेपानी आयोजना निर्माणमा ३५ अर्ब रुपैयाँ भन्दा धेरै लगानी भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया