राष्ट्रियसभामा क्लिन स्वीप गर्न ५ दल एकजुट, उम्मेदवारले ३ लाख खर्च गर्न पाउने

काठमाण्डौ । सत्ता गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका उम्मेदवारका लागि भोट मागेका छन् । गठबन्धनका शीर्ष नेताहरुले आफ्ना उम्मेदवारहरुको नामावली सार्वजनिक गर्दै उनीहरुका लागि भोट मागेका हुन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि नेताहरुले संयुक्त अपील जारी गरेका हुन् ।
संयुक्त अपीलमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नाउपा अध्यक्ष रञ्जिता चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि भएको भन्दै नेताहरुले गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक रहेको संयुक्त अपीलमा उल्लेख गरेका छन् । कुल १९ सिटमध्ये कांग्रेसले सबैभन्दा बढी १० सिट भाग पाएको छ भने माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा भाग पाएको छ ।
उम्मेदवारको खर्चको सिमा
निर्वाचन आयोगले आगामी माभ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको खर्चको सिमा तोकेको छ । आज खर्चको सिमा निर्धारण गर्दै आयोगले एक जना उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउनसक्ने जनाएको हो । आयोगका अनुसार मतदान नामावली खरिद, सवारी साधान र इन्धन, प्रचार सामाग्री, गोष्ठी अन्तरक्रिया, प्रचार प्रसार कार्यालय सञ्चालन लगागत गरी कुल तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सकिनेछ । उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा खाता खोलेर त्यसबाट खर्च गर्नुपर्नेछ । उक्त खर्चको विवरण निर्वाचन सकिएको ३० दिनभित्र आयोगमा बुझाउन समेत उम्मेदवारहरुलाई आग्रह गरिएको छ । राष्ट्रिय सभाका १९ सिटका लागि ११ माघमा निर्वाचन हुँदैछ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया