Techie IT
  • ४ फागुन २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

आलमको मुद्धामा न्यायाधीशले तानेनन् गोला, सुनुवाइ स्थगित


रौतहट । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा परेको छ । फाँट नम्बर ५ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि उक्त मुद्दा स्थगितको सूचीमा परेको हो । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको थियो । तर कुनै पनि न्यायाधीशले गोला तानेनन् । ७ न्यायाधीशको दरबन्दी रहेको रौतहट जिल्ला अदालतमा आइतबार दुई न्यायाधीश मात्रै उपस्थित भएका थिए ।

न्यायाधीश अभावमा उक्त मुद्दाको पेसी स्थगितमा परेको हो । रौतहटको राजपुरमा २०६४ चैत २७ गते भएको बम बिस्फोटका घटनामा संलग्न भन्दै प्रहरीले मोहम्मद अफताब आलम, शेख सेराज भन्ने शेख सराज, शेख फजलेहक, शेख भदई, मोहम्मद महताब आलम, सगिर आलम, बद्री सहनी, गौरीशंकर साह, मुक्ति साह, मोहद मोबिन आलम र शेख जुमइन भन्ने शेख मलकारविरुद्ध मुद्दा चलाएको थियो । २०७६ साल कात्तिक १८ गते दर्ता भएको मुद्दा ४ वर्ष कटिसकेको छ ।

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आलमलाई लागेको छ । सो घटनामा प्रहरीले २०७६ सालमा पुनः अनुसन्धान गरेको थियो । उनीमाथि १८ कात्तिक २०७६ मा रौतहट जिल्ला अदालतमा ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा मुद्दा दायर भएको थियो । यो मुद्दाको थुनछेक बहसपछि आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।

यो मुद्दामा कांग्रेस नेता तथा पूर्वमन्त्री आलमसहित ११ जना प्रतिवादी छन् । अभियोगपत्रमा आलमलाई ४५ वर्ष कैद सजाय माग दाबी गरिएको छ । गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो । सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकेको भए पनि स्थगित भएको छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode