दिनभरी बालाजु क्षेत्रमा तनाब, भोलि गाडी ठप्प पार्ने
काठमाण्डौ । काठमाडौँको बालाजु क्षेत्र आज दिनभर तनावग्रस्त बनेको छ । यातायात व्यवसायी तथा मजदुरहरुले ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध प्रदर्शन गरेका हुन् । यातायात व्यवसायी र मजदुरहरुले सडकमा टायर बाल्दै प्रदर्शन गर्दा दुई पक्षीय झडपको समेत स्थिति उत्पन्न भएको हो ।
काठमाडौँ महानगरपालिकासमेतको समन्वयमा बालाजु, माछापोखरीलगायतका स्थानमा पार्किङ गरिने सवारी साधानलाई नयाँ बसपार्कमा लगेरमात्र पार्किङ गरिनुपर्ने नियम बनाइएपछि यातायात व्यवसायी र मजदुर आक्रोशित बनेका हुन् ।
यातायात मजदुरहरुले प्रहरीको भ्यानसमेत जलाइदिएका छन् । आफ्नो मजदुरलाई कुटपिट गरेको, ट्राफिक प्रहरीले दुःख दिएको यातायात मजदुरहरुको आरोप छ । यसअघि यातायात श्रमिक सम्बद्ध तीनवटा संगठनहरुले नेपालको यातायात क्षेत्र मन्त्रालय विहीन र भद्रगोल बनेको र ऐन पालना गराउने ट्राफिक प्रहरी आफै ऐनविपरीत चालकहरुको लाइसेन्स निलम्बन गरिरहेको भन्दै भोलिदेखि काठमाण्डौ उपत्यकामा सार्वजनिक सवारी साधन बन्द गर्ने घोषणा गरेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया