नेकपा एसमा विमति : समाजवादी मार्चाको पक्षमा नेपाल, बाम एकताको रटानमा खनाल
काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई संकटबाट जोगाएर अघि बढ्नका लागि समाजवादी मोर्चामा आबद्ध दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । त्यसका लागि दलहरुबीच सहमति भएको पनि जानकारी दिए । समाजवादी मोर्चाको संयोजकको हैसियतले आफूले जटिल राजनीतिक परिस्थितिको बारेमा छलफल गराएको नेपालको भनाई छ ।
आजदेखि सुरु पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चालाई महत्व दिइरहँदा सम्मानित नेता झलनाथ खनालले भने बाम एकताको कुरा गरेका छन् । बैठकमा बोल्दै खनालले नेपालका कम्युनिष्टहरुलाई सिध्याउने योजना बुनिरहेको भन्दै पार्टीले वाम एकताको पहल गर्नुपर्ने बताएका हुन् ।
खनालले पार्टीको नवौं महाधिवेशनमा ७० वर्षे उमेरहद राखिएको पनि असन्तुष्टी जनाए । उमेरहदको सान्दर्भिकता नै नभएको उनको भनाइ छ । नेता खनालले उमेरहद राख्ने तर विचारवान नेताहरु जन्माउन नसकिएको भन्दै आगामी महाधिवेशनमा पार्टीमा युवाहरुको व्यापक उपस्थिति हुनेगरी विधान बनाउनुपर्ने कुरामा पनि जोड दिए ।
पार्टीको आगामी महाधिवेशनको तयारी र विधानका सम्बन्धमा छलफल गर्न बसेको एकीकृत समाजवादीको बैठक शुक्रबारसम्म चल्नेछ ।। ००समाजवादीले विधान संशोधन गर्न आगामी माघ १४ र १५ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्न लागेको छ । यस्तै देशभर पार्टी सङ्गठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे पनि छलफल गरिने र प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी पनि तोकिने जनाइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया