Techie IT
  • ४ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

भोलिदेखि जैविक विविधता चलचित्र महोत्सव हुँदै


काठमाडौं । नेपाल वातावरण पत्रकार समूहको समेत सहकार्यमा भोलि शुक्रबार (२९ मंसिर) देखि काठमाडौंमा जैविक विविधतासम्बन्धी चलचित्र महोत्सव हुँदैछ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन), क्यानडाली राजदुताबास, नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, नेपाल वातावरण पत्रकार समूह, विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल, जुलोजिकल सोसाइटी अफ लन्डन (नेपाल कार्यालय) लगायत २० भन्दा बढी राष्ट्रिय/अन्तर्राष्ट्रिय संघ संस्थाको सहकार्यमा भारतीय संस्था ‘सीएमएस वातावरण’ले यो चलचित्र महोत्सव आयोजना गर्न लागेको हो । यो महोत्सव वन्यजन्तु, जैविक विविधता र वातावरणका सामाजिक एवं आर्थिक पाटोका विभिन्न पक्ष केन्द्रित हुनेछ । भृकुटीमण्डपस्थित पर्यटन बोड र खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजना हुने महोत्सवले पर्यावरण, प्राकृतिक स्रोत र वातावरणीय सम्पदा संरक्षणमा युवा सहभागीतालाई जोड दिएको छ ।

महोत्सव शुक्रबार अपराह् पर्यटन बोर्डमा सुरू हुने छ । ‘यसमा जलवायु परिवर्तन र जैविक विविधता संरक्षणबारे चलचित्र प्रदर्शन, कार्यशाला, तालिम कार्यक्रम, प्यानल छलफलहरू इत्यादिलाई समेट्ने छौ, थुप्रै रोचक कार्यक्रमहरू हुनेछन्’, बिहीबार महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सीएमएस वातावरणका उपनिर्देशक सब्यसाची भारतीले बताए । सो अवसरमा जैविक विविधता संरक्षण र जलवायु परिवर्तनको असर सामना गर्दै दिगो वातावरणमैत्री अभ्यासमा प्रेरित गर्न आफ्नो दूतावास महोत्सवसँग जोडिएको क्यानेडेली राजदूत क्यामरुन म्याकेले बताए ।

नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष रोशनी अधिकारी पाठकले नेपालको वातावरण संरक्षण आन्दोलनको एउटा खम्बा भएका नाताले तथा सबै भन्दा लामो समयसम्म वातावरणसम्बन्धी भिडियो कार्यक्रम चलाएका नाताले पनि समूहलाई यसमा सहभागी बनाइएकोमा गर्व लागेको वताए । यसैगरी सीएमएस वातावरण संस्थाले २ दशक यता वातावरण र जैविक विविधताका विभिन्न पक्ष समेटेर चलचित्र र अन्तक्रिया गर्दै आएको जनाइएको छ । यो संस्थाले हालसम्म ११ वटा यस्ता महोत्सव आयोजना गरेको छ । महोत्सवमा जलवायु परिवर्तन, अनुकूलन र न्यूनीकरण, वन्यजन्तु संरक्षण, जल संरक्षण, वन संरक्षण र दिगो जीविकोपार्जन जस्ता विभिन्न सान्दर्भिक वातावरणीय मुद्दाहरूमा विश्वका विभिन्न भागबाट कुल १२ वटा अन्तर्राष्ट्रिय पुरस्कार विजेता चलचित्र प्रदर्शन हुने छन् ।

‘सामाजिक प्रभाव फिल्म निर्माण कार्यशाला’ विषयक अन्र्तक्रियामा भारतीय फिल्म निर्माता राकेश राव लगायतका नेपाली चलचित्रकर्मी, संरक्षणकर्मी र अन्य सरोकारवाला सहभागी हुने छन् । भारतबाहिर यस्तो महोत्सव ३ पटक भएको र नेपालमा भने पहिलो पटक यस्तो जमझट तय भएको सीएमएस वातावरणका निर्देशक पीएन वसन्तीले जानकारी दिए । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो, नेपालका लागि, वन मन्त्रालयका सचिव डा. दीपककुमार खराल, आइयूसीएनका क्षेत्रीय प्रतिनिधिहरू कार्यक्रममा सहभागी हुने छन् ।

 


क्याटेगोरी : देश, प्रमुख समाचार
ट्याग : #जैविक विविधता चलचित्र महोत्सव

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode