उपचाररत २ जना बिरामीको मृत्यु भएपछि पाटन अस्पतालमा बबाल, चिकित्सक आन्दोलनमा
ललितपुर । चिकित्सकमाथि कुटपिट गरेको विरोधमा पाटन अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । चिकित्सकमाथि कुटपिट गर्नेमाथि कारबाही गर्न माग गर्दै आवासीय चिकित्सकहरुनै विरोध प्रदर्शनमा उत्रिएपछि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको हो ।
प्रचलित कानुन बमोजिम चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई कारबाही नगरेसम्म सेवा प्रवाह ठप्प पार्ने जनाएको छ । सो अस्पतालमा गत कात्तिक १८ गते शनिबार ज्येष्ठ नागरिक वार्डमा उपचाररत दुई बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले चिकित्सकमाथि कुटपिट गरी बन्धक बनाएको आन्दोलनरत चिकित्सकहरूको भनाइ छ ।
गत कार्तिक १८ गते शनिवार ज्येष्ठ नागरिक वार्डमा उपचाररत दुई बिरामीको मृत्यु भएको थियो । उपचाररत दुई बिरामीको सुईबाट औषधि दिएको केही समयमा नै मृत्यु भएको थियो । ५ दिनदेखि अस्पतालमा भर्ना भएर निमोनियाको उपचार गराईरहेका ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६० वर्षीय कृष्णबहादुर नगरकोटीको औषधि दिएको केही बेरमै मृत्यु भएको हो ।
पाटन अस्पतालका मेडिसिन विभागका प्रमुख प्राडा युवराज शर्माका अनुसार ५ दिनदेखि अस्पतालमा भर्ना भएर उपचार गराइरहेका दुवै बिरामीलाई ‘सेफ्ट्रियाक्सोन’ र रगत पातलो गर्ने औषधि ‘हेपारिन’ चलाइएको थियो । अस्पतालको एउटै वार्डमा भर्ना भएर उपचार गराइरहेका दुवै विरामीलाई शनिवार ड्युटीमा रहेकी नर्सले सुईमार्फत उक्त दुई एन्टिबायोटिक औषधि दिएकी थिइन् । उक्त सुई लगाउनासाथ ती बिरामीको मृत्यु भएको थियो ।
मृत्युपछि आफन्तहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरवाही भएको आरोप लगाउँदै आक्रोशित भएका थिए। सो क्रममा उनीहरुले ड्युटीमा रहेका केही चिकित्सक तथा नर्सहरुमाथि हातपात तथा दुर्व्यवहार गरेका थिए । लगत्तै पेसागत सुरक्षाको माग गर्दै पाटन अस्पतालका आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन । उनीहरूले चिकित्सकमाथि कुटपिट गर्ने कार्यमा संलग्नहरूलाई सरकारले कारबाही नगरेसम्म आफूहरूको आन्दोलन नरोकिने बताएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
प्रतिक्रिया