जाजरकोट भूकम्प अपडेट : जाजरकोटमा ९२ र रुकुम पश्चिममा ६२ जनाको मृत्यु
जाजरकोट । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले मानवीय तथा भौतिक क्षति पुर्याएको छ । जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा ६२ जनाको मृत्यु भएको छ । करिब ५ सय जना घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् ।
भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैँ नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रमा गएका हुन् ।
भूकम्प प्रभावितको खोज उद्धारका लागि तीनवटै निकायका थप सुरक्षाकर्मी सुर्खेतलगायत छिमेकी जिल्लाबाट पनि सो क्षेत्रतर्फ प्रस्थान गरेका छन् ।
यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट भूकम्प प्रभावितलाई राहतको लागि एक करोड रुपैयाँ रकम सहयोग गर्ने घोषणा गरेको छ । त्यसैगरी बागमती प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट घाइते भएकाको उद्धार, राहत र पुनर्स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।
नेपाली कांग्रेसले भूकम्पमा परेकाको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारको कोषमा पचास लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जाजरकोट र रुकुम (पश्चिम) मा शुक्रबार रातिको भूकम्पमा परी जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गरेकी छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले शुक्रबार मध्यराति आएको शक्तिशाली भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्वारका लागि पार्टीका केन्द्रीय उत्पादनबाट २५ क्वीन्टल चामल र १ लाख रुपैयाँ रकम सहयोग गर्ने भएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितको उद्धार तथा राहतमा आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गए राति गएको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र उपचारमा खट्न पार्टी पंक्तिलाई आव्हान गरेका छन् ।
नेपालको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गरेको छ । दूतावासले आवश्यक सहयोगका लागि तयार रहेको पनि जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले भोलि हुने नेपाल र ओमानको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेको छ ।
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया