जनयुद्ध दिवसका विषयमा नेकपा एमालेको दोहोरो चरित्र !

काठमाण्डौ । जनयुद्ध दिवसका विषयमा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल र माओवादीका उपमहासचिव बर्षमान पुनबीच विहिबार प्रतिनिधिसभामा चर्काचर्की प¥यो । एमाले सांसदसमेत रहेका पौडेलले जनयुद्ध सुरू भएको दिनलाई उत्सवका रुपमा लिन नसकिने भन्दै जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिने सरकारको निर्णय फिर्ता लिन आग्रह नै गरे । उनी यतिमा मात्रै रोकेनन्, फिर्ता लिन नसके जनयुद्ध दिवस मनाउने प्रस्तावलाई संसदमा ल्याएर पारित गर्न चुनौती समेत दिए । फागुन १ गते नेपालमा जनयुद्ध सुरु भएको नभै हिंसाको आरम्भ भएको पौडेलको तर्क छ ।
अहिले एमालेले जनयुद्ध दिवसको विरोध गरे पनि उक्त निर्णयमा एमालेकै महत्वपूर्ण भूमिका देखिन्छ । अघिल्लो वर्षको पुष १० गते प्रधानमन्त्री बनेका प्रचण्डले माग ३ गते मन्त्रीमण्डल विस्तार गरेर २३ सदस्यीय पुर्याएका थिए । त्यसबेला उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमालेले उपप्रधानसहित ८ मन्त्रालय लिएको थियो । त्यही मन्त्रीमण्डलले जनयुद्ध दिवस फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो । त्यसैले माओवादीका उपमहासचिव वर्षमान पुनले उनै पौडेललाई राम्र्रैसँग जवाफ फर्काए ।
यति मात्रै होइन, त्यसबेला जनयुद्ध दिवस स्वीकार गर्ने र सार्वजनिक विदा दिने विषयमा एमाले अध्यक्ष केपी ओलीको समेत सहमति रहेको प्रचण्डले दाबी गर्दै आएका छन् ।
२०५२ साल फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए । त्यसैले पनि फागुन १ गतेलाई माओवादी पक्षले निकै महत्व दिने गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया