Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

बागमती प्रदेशका २८ सहकारी सिआईबीको अनुसन्धानमा ५ वर्षमा बागमतीमा २१५ वटा सहकारीविरुद्ध उजुरी


ललितपुर । प्रदेश स्थापना पछि साढे ५ वर्षमा वाग्मती प्रदेशलाई कार्यक्षेत्र बनाएर काम गरिरहेका २ सय १५ सहकारीविरुद्ध उजुरी परेको छ। प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय अन्तर्गतको सहकारी महाशाखामा उजुरी परेका हुन्।

संचालकहरु बीचको समस्या, संचालक समितिको अधिकारमा हस्तक्षेप गरी काममा अवरोध, अध्यक्ष भागेको, निक्षेपकर्ताको रकम फिर्ता नगरेको, महँगो ब्याज, मिटर ब्याज र संचालकले नै ऋण नतिरेको जस्ता उजुरी प्राप्त भएको महाशाखाको तथ्यांकमा उल्लेख छ। प्रदेश सरकार मातहत ३ हजार २ सय ७२ सहकारी छन्। २ सय १५ उजुरीमध्ये अधिकांश सहकारी बहुउद्देश्यीय र बचत संस्थाविरुद्ध रहेको सहकारी महाशाखाका कानुन अधिकृत मनोजकुमार गुप्ताले बताए। महाशाखाको तथ्यांकअनुसार २ सय १५ सहकारीमाथि ३ हजार जनाभन्दा बढीले उजुरी दर्ता गराएका छन् ।

वाग्मती प्रदेश सरकारअन्तर्गत रहेका र प्रदेशलाई क्षेत्राधिकार बनाएको सहकारीहरुबाट १ खर्ब ८८ अर्बभन्दा ३२ करोडभन्दा बढी रकम ऋण परिचालन भएको र २ खर्ब १० अर्ब रुपैयाँभन्दा बढी बचत संकलन गर्ने गरिएको समेत कानुन अधिकृत गुप्ताले जानकारी दिए।

महाशाखाले उजुरीकर्ताबाट प्राप्त निवेदनमा अनुसन्धान प्रक्रिया प्रारम्भ गरेको रजिष्ट्रार राधाकृष्ण खतिवडाले बताए। जसअनुसार पहिलो पटक १५ दिनको समयसीमा राखेर बचतकर्ताको बचत रकम फिर्ताका लागि पत्राचार गर्ने गरिएको छ। सो पत्र अनुसार संचालक समितिले बचत फिर्ता वा समस्या समाधान गर्न नसकेको खण्डमा पुनः ७ दिनको समयसीमा दिएर ताकेता गर्दै पत्र काट्ने गरिएको उनले बताए।

त्यस पश्चात पनि समस्या समाधान नभएको खण्डमा पत्र काटेर छलफलका लागि बोलाउने र त्यति गर्दा पनि सम्पर्कमा नआएको खण्डमा उजुरीको प्रकृतिका आधारमा प्रहरी वा सीआईबीमा पठाउने गरिएको उनले बताए।

२८ सहकारी अनुसन्धानको दायरामा

वाग्मती प्रदेशका १५ वटा सहकारीविरुद्ध ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ। प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय अन्तर्गतको सहकारी महाशाखामा प्राप्त उजुरीका आधारमा सीआईबीलाई पत्राचार गरिएको थियो। सोही आधारमा सीआईबीले अनुसन्धान गरिरहेको सहकारी महाशाखाका कानुन अधिकृत गुप्ताले जानकारी दिए।

प्रहरी र सीआईबीमा गरेर २८ वटा सहकारीमाथि अनुसन्धान भइरहेको उनले बताए। अनुसन्धानमा तानिएका सम्पूर्ण सहकारीहरु काठमाडौं उपत्यकामा केन्द्रीय कार्यालय स्थापना गरी काम गरिरहेको उनको भनाइ छ।

भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड [तीनकुने, काठमाडौं], जयअम्बे बचत तथा ऋण सहकारी संस्था लिमिटेड [टोखा, काठमाडौं], हिउँचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड [महाराजगंज, काठमाडौं], लसकुस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड [पकनाजोल, काठमाडौं], युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड [न्यूरोड, काठमाडौं], राष्ट्रप्रेम बचत तथा ऋण सहकारी संस्था लिमिटेड [बांगेमुढा, काठमाडौं], गतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेड [ललितपुर] विरुद्धका उजुरी अनुसन्धानका लागि ब्यूरो र प्रहरीसमक्ष पठाइएको महाशाखाले जनाएको छ।

त्यस्तै, सिभिल सेभिङ एण्ड कोअपरेटिभ लिमिटेड [काठमाडौं], स्मृति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, [पुतलीसडक, काठमाडौं], हितकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड [क्षेत्रपाटी], एबीसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड [काठमाडौं], पश्चिमोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड [काठमाडौं], अक्षता बचत तथा ऋण सहकारी संस्था लिमिटेड [काठमाडौं], भद्रकाली कृषि सहकारी संस्था लिमिटेड [काठमाडौं], ओम बटु गुडवील बचत तथा ऋण सहकारी संस्था लिमिटेड [काठमाडौं], उत्तम बचत तथा ऋण सहकारी संस्था लिमिटेड [काठमाडौं], मञ्जरी बहुउदेश्यीय सहकारी संस्था लिमिटेड [काठमाडौं], राईजिङ् अप बचत तथा ऋण सहकारी संस्था लिमिटेड [काठमाडौं], देउराली बहुउदेश्यीय सहकारी संस्था लिमिटेड [ललितपुर ], सुमो बचत तथा ऋण सहकारी संस्था लिमिटेड [काठमाडौं], जनजिविका बचत तथा ऋण सहकारी संस्था लिमिटेड [भक्तपुरं], सन्ध्या बचत तथा ऋण सहकारी संस्था लिमिटेड [नयाँ बानेश्वर, काठमाडौं], एभर ट्रष्ट सहकारी संस्था लिमिटेड [चाबहिल, काठमाडौं] , सहारा चितवन बहुउदेश्यीय सहकारी संस्था लिमिटेड [भक्तपुर], आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेड [काठमाडौं], खुसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड [काठमाडौं], धनधान्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड [काठमाडौं] माथि परेका उजुरी पनि प्रहरीलाई जिम्मा लगाइएको छ।

ती सहकारीहरुमाथि आवश्यक छानबिन तथा अनुसन्धान सहित आवश्यक कारवाही गर्ने गरी प्रहरी र सीआईबीमा पठाइएको महाशाखाका कानुन अधिकृत गुप्ताले बताए।

 


क्याटेगोरी : अर्थ/सहकारी, खोज मिसन, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode