कोशीमा पाँचौ पटक मुख्यमन्त्री नियुक्त, केदार कार्कीलाई एमालेको पनि साथ

काठमाण्डौ । कोशी प्रदेशको मुुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन । आज ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएपछि कार्की मुख्यमन्त्रीमा नियुक्त भएकाहुन । कार्कीलाई मुख्यमन्त्री पदमा नयुक्त गर्नुअघि नेकपा (एमाले) का ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएको थियो । लगत्तै प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरे । कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो ।
मुख्यमन्त्री नियुक्त भएपछि केदार कार्कीले प्रदेश सरकारको गठन, विस्तार र आगामी कार्यक्रम बारे प्रदेश सांसदहरु संग छलफल गरेर अघि बढ्ने जानकारी दिए । उनले अन्य दलहरुलाई पनि सरकारमा सामेल गराउने बारे छलफलमा नै रहेको प्रतिक्रिया दिए ।
त्यस्तै कोशी प्रदेश सरकार गठनमा प्रमुख साझेदार दल नेकपा एमालेका कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले अहिलेको सरकारलाई ४ वर्षसम्म टिकाउने गरी आफुहरु अगाडि बढ्ने जानकारी दिए । उनले सहमतिको सरकार बनाउने प्रयास समेत हुने र यसबारे छलफल गरिनेबताए ।
मुख्यमन्त्री पदको शपथ भने आइतबार हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति पछि तत्कालका लागि मध्यावधीको सम्भावना टरेको छ । दोश्रो प्रदेश सभाको निर्वाचन पछि कोशी प्रदेशमा ५ पटक सरकार परिवर्तन भईसकेको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया