बीआरआईलाई कार्यतालिका बनाएर कार्यान्वयन गर्छु : प्रचण्ड

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले अघि सारेको बीआरआई परियोजनालाई समयबद्ध कार्यतालिका बनाएर कार्यान्वयन प्रक्रिया अघि बढाउने बताएका छन् । बीआरआई परियोजना सुरु भएको एक दशक पुगेको अवसरमा नेपाल–चीन फ्रेण्डसिप फोरमले काठमाडौंमा गरेको ‘व्यापार, लगानी र सम्पर्क सन्जाल सम्बन्ध’को विषयमा गरेको अन्तक्रियामा उनले उक्त धारणा राखेका हुन् ।
नेपालमा विकास निर्माणका लागि तीव्र लगानी आवश्यक रहेको र त्यसका लागि बीआरआई अवसर भएको भन्दै प्रधानमन्त्री प्रचण्डले कार्यान्वयनको कार्यतालिका बनाएर छिटो काम गर्ने बताए । वित्तीय लगानी नीतिमा मसिनो ढंगले छलफल गर्नुपर्ने र चीनले आफ्ना कतिपय नीतिमा पुनर्विचार गर्नुपर्ने उनले बताए । उनले बीआरआईको वित्तीय लगानी मोडलको विषयमा अझै मसिनो ढंगले छलफल गर्ने बताए ।
चीनले त्यसका केही नीतिमा परिवर्तन गर्नु आवश्यक रहेको उनको धारणा छ । आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा धेरै मिहिनेत गरेर बीआरआईमा एमओयू गरेको स्मरण गर्दै उनले अहिले तेस्रोपटक प्रधानमन्त्री भएको बेला त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी आएको बताए । आफूले हालै गरेको चीन भ्रमणको क्रममा बीआरआई परियोजना सम्बन्धी कामको कार्यान्वयन गर्ने बुँदामा पनि सहमति भएको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत बन्ने विश्वास व्यक्त गरे ।
आफूले बीआरआई परियोजना अघि बढाउन पहल गरे पनि बुद्धिजीवी वर्गले त्यसको चर्चा नगरिदिएको गुनासो उनले गरे । सी जिनपिङ राष्ट्रपति बनेपछि चीनले गरिबी निवारण र पूर्वाधार विकासमा अभूतपूर्व फड्को मारेको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यो नेपालका लागि पनि सिक्ने अवसर भएको बताए । आफूले चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सँगै राखेर नेपाल, भारत र चीनबीच त्रिदेशीय मजबुत सम्बन्ध हुनुपर्छ भनेको स्मरण पनि उनले गरे ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया