दशैँको टीकाको साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे
काठमाण्डौ । यस वर्षको दशैंको टीकाको साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीकाको साइत सार्वजनिक गरेको हो ।
कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ ।
यस वर्षको वडादशैं अर्थात् दुर्गा पक्षको सुरुवात तथा नवरात्रारम्भ असोज २८ गते आइतबार हुनेछ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको छ ।
गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान पर्व वडादशैं सुरु हुँदैछ । कात्तिक पहिलो साता वडा दशैको मुख्य दिन अर्थात् विजया दशमी परेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो वडादशैं पर्व समाप्त हुन्छ ।
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया