पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको निर्णय आइतबार राति १२ बजेपछि मात्रै लागू हुने
काठमाण्डौ । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले चौतर्फी आलोचनापछि मूल्यबृद्धि फिर्ता लिएको हो । सरकारकी प्रवक्ता रेखा शर्माले पेट्रोलियम पदार्थको मूल्य साविककै कायम राख्न आयल निगमलाई प्रधानमन्त्रीले निर्देशन दिएको जानकारी दिइन ।
आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्नेछ । मूल्यबृद्धि फिर्तापछि पुरानै मूल्य कायम गरिएको छ ।
आइतबार राति १२ बजेपछि मात्रै पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लागू हुने भएको छ । नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै राति १२ बजेदेखि लागू हुनेगरी मूल्यवृद्धि फिर्ता लिइएको जानकारी गराएको छ ।
यद्यपि स्वचालित मूल्य प्रणालीको लागू भने भइरहने निगमले स्पष्ट पारेको छ । त्यस्तै घटाइएको मूल्यबाट पर्ने नोक्सानी मूल्य स्थिरिकरण कोषबाट ब्यहोर्ने निगमले जनाएको छ । ‘नजिकिँदै गरेको चाडपर्व तथा उपभोक्ताको हितलाई ध्यानमा राखी प्रधानमन्त्री पुष्पकमल दाहालबाट निर्देशन भएबमोजिम स्वचालित मूल्य प्रणाली यथावत हुनेगरी हाल भएको मूल्यवृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्नेगरी मूल्यवृद्धि राति १२ बजेबाट लागू हुनेगरी फिर्ता गरिएको छ’ निगमको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि शनिबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ तथा डिजेलरमट्टितेल ६ रुपैयाँ, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएको थियो । जुन मूल्यवृद्धि आइतबार राति १२ बजेपछि फिर्ता हुने भएको हो । मूल्यवृद्धिका कारण आइतबार काठमाडौंमा पेट्रोल प्रतिलिटर १८५ रुपैयाँ, डिजेलरमट्टितेल १७९ रुपैयाँ र ग्यास प्रतिसिलिण्डर २११० रुपैयाँमा बिक्री भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया