Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

कांग्रेस बैठकमा सरकारको आलोचनादेखि संघीयतामाथि प्रश्नसम्म


ललितपुर । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा सरकारको चर्को आलोचना भएको छ । सबैभन्दा धेरै मन्त्रालय कांग्रेसले लिए पनि नेतृत्व पुष्पकमल दाहालले गरेका कारण राम्रो काम हुन नसकेको भन्दै आलोचना गरिएको छ । अहिले जनतामा देखिएको निराशा सरकारले सम्बोधन गर्न नसकेपछि सरकारको अपजस कांग्रेसले पनि पाउने भएकाले विकल्प खोज्नुपर्नेमा अधिकांश नेताको धारणा छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नै संघीयतामाथि प्रश्न उठाएका छन् । स्थानीय तहलाई जनताले रुचाएपनि प्रदेशप्रति जनतामा वितृष्णा छाएको उनको भनाइ थियो ।

यस्तै, अर्का केन्द्रीय सदस्य शंकर भण्डारीले पनि हिन्दू राष्ट्र पक्षमा वकालत र संघीयताको विषयमा प्रश्न उठाए । विगतको महासमितिको बैठकमा हिन्दु राष्ट्रको पक्षमा बहुमत सदस्यले हस्ताक्षर गरेर बुझाउँदा पनि सभापतिले थन्काएर राखेको आरोप लगाए । उनले नेपाली शब्दकोषबाट ओम शब्द हटाइएकोप्रति आपत्ति जनाए ।

बैठकमा नेतृत्वको पनि आलोचना भएको छ । अब युवा लक्षित योजना अघि सार्नुपर्ने सुझाब दिइएको छ । त्यसका लागि पुरानो ढर्राबाट मुक्त हुनुपर्नेमा जोड दिइएको छ ।

कांग्रेसका अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले ११ जना केन्द्रीय सदस्य विरुद्ध अनुशासन उल्लंघनको उजुरी आएको बताएका छन् । अनुशासन समितिले हाल महासमिति सदस्य चयन हुन नसकेका २५ जिल्लाका उजुरीलाई प्राथमिकतामा राखेर छानबिन गरिरहेको छ ।

बैठकबारे जानकारी दिदै प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले केन्द्रीय सदस्यहरुले जनतालाई प्रत्यक्ष महशुस हुने गरि सरकारको कामलाई प्रभावकारी बनाउनुपर्ने धारणा आएको बताए । निश्चित उदेश्यका साथ बनाइएको गठबन्धनलाई निरन्तर अघि बढाउनुपर्ने धारणा कांग्रेसको रहेको छ । सरकारले गरेको ठिक कामलाई जनतामाझ पुराउनुपर्ने र सरकारको कमीकमजोरीका बारेमा औल्याउन सकिने विश्वकर्माले बताए ।

त्यस्तै केन्द्रीय समिति बैठकमा महासमिति बैठकको प्रभावकारीता, पार्टी कार्यक्रमको समिक्षाका साथै समसामायिक बिषयमा धारणा राखेको विश्वकर्माले जानकारी दिनुभयो । केन्द्रिय कार्यसमिति बैठक सोमबार पुन ११ बजे बस्ने कांग्रेसले जनाएको छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode