ललिता निवास प्रकरणमा आरोपीसँग बयान जारी : यस्तो छ प्रक्रिया
काठमाण्डौ । बालुवाटार स्थित ललिता निवास क्याम्प भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा दुई जना प्रतिवादीको बयान सोमबार नै सकिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासमा १३ नम्बर इजलासमा शिवजी राई र रुद्र प्रसाद श्रेष्ठको बयान सम्पन्न भएको हो ।
शिवजी राई पूर्ववडासचिव हुन् भने श्रेष्ठ भूमिसुधार तथा व्यवस्था विभागका पूर्वमहानिर्देशक हुन् । यी दुई प्रतिवादीको बयान सकिएपछि मंगलबार थप ३ जनाको बयान लिन सुुरु गरिएको छ । जिल्ला अदालत काठमाडौंका सुचना अधिकारीका दिपक दाहालका अनुसार बालकृष्ण श्रेष्ठ, कलाधार देउजा र मीन बहादुर गुरुङको बयान लिन सुरु गरिएको हो । आज बयान सुरु भएका प्रतिवादी मध्ये मीन बहादुर गुरुङ भाटभटेनी सुपरमार्केटका संचालक हुन् भने बालकृष्ण श्रेष्ठ तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्रालयका सिडिई हुन् ।
र कलाधर देउजा डिल्लीबजार मालपोतका कार्यालयका तत्कालिन प्रमुख हुन् । यस प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् । जसमध्ये १२ जनाको बयान हुन बाँकी नै छ । २ सय ९० जनालाई विपक्षी बनाइएको यस प्रकरणमा २ सय ७३ प्रतिवादी अझै फरार छन् । जहाँ पूर्वमन्त्री जस्ता उच्च पदस्त व्यक्ति रहेका छन् । ललिता निवासको १ सय ४३ रोपनी सरकारी जग्गालाई ३÷४ चरणमा सरकारी कागज किर्ते गरी व्यक्तिको नाम सारेको अनुसन्धानले देखाएको छ ।
पहिलो चरणमा १ सय १२ दोस्रो चरणमा २५ रोपनी गर्दै चरणबद्ध रुपमा अतिक्रमण भएको थियो । संगठित अपराध कसुरमा सिआईबीले अनुसन्धान गरेपनि संगठित अपराध सम्बन्धी कानुुन २०७० मा आएकाले यस प्रकरणमा सो कानुन लगाउन नमिल्ने जिकिर गर्दै सरकारी वकिलको कार्यालयले लिखत किर्ते कसुरमा मुद्धा दर्ता गरेको थियो । कुल १८ अर्ब रकम बिगो मागदावी गरिएको यस प्रकरणमा प्रतिवादीहरुको बयान सम्पन्न हुन थप केही समय लाग्नेछ । त्यसपछिको थुनछेक बहसले प्रतिवादीहरुलाई थुनामा राखी अनुसन्धान गर्ने, धरौटी वा सामान्य रिहा गर्ने भन्नेबारे आदेश दिनेछ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया