एमालेलाई सुवास नेम्वाङको सुझाब : संसदको अवरोध नियमसंगत छैन

काभ्रे । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदको अवरोध नियमसंगत नरहेको बताएका छन् । संघीय संसद सचिवालयले शनिबार काभ्रेको धुलिखेलमा आयोजना गरेको ‘संसद् र सञ्चार सम्बन्ध’ विषय अन्तक्र्रियामा बोल्दै नेम्वाङले संविधानले अवरोध गर्ने कुरालाई अनुमति नदिएको र नियमले पनि अवरोधको कल्पना नगरेको भन्दै संसदको अवरोध नियमसंगत नरहेको बताएका हुन् ।
‘संसदमा अवरोध भन्ने कुरा नियमसंगत होइन, संविधानले अवरोध गर्ने कुरालाई अनुमति दिएर राखेको छैन । नियमले पनि अवरोधको कल्पना गर्दैन तर राजनीतिक दलहरु कहिलेकाहीं अवरोध गर्छन्’ उनले भने, ‘त्यसैले यो देशमा अरु देशमा जस्तै संसदीय प्रणाली भएका देशमा जस्तै. अवरोध हुँदोरहेछ ।’
नियमसंगत नहुदा राजनीतिकरुपमा गरिने अवरोधको औचित्य पुष्टि गर्ने जिम्मेवारी सम्बन्धीत दलको भएको उनको भनाई छ । नेम्वाङले बहुमत नभएको दलले सरकारले आफ्नो कुरा नसुनेपछि राजनीतिक रूपमा संसद् अवरोध गर्ने गरेको धारणा राखे ।
सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिनको माग गर्दै नेकपा एमालेले १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया