एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा, विपक्षी तर्सिएको प्रचण्डको जवाफ

काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहालले जनादेशको अपमान गरेको निष्कर्ष निकालेको छ । संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको एमाले संसदीय दलको बैठकले आफुलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको भन्ने अभिव्यक्तिपछि प्रधानमन्त्रीले पदमा बसिरहने राजनीतिक र नैतिक अधिकार गुमाएको निष्कर्ष निकालेको एमाले सचेतक महेश बर्तौलाले बताए । एमालेले यही विषयलाई आधार बनाएर प्रधानमन्त्रीको राजीनामासमेत मागेको छ ।
एमालेले राष्ट्रिय सभा बैठक पनि अवरोध गरेको छ । बैठक सुरु हुनेबित्तिकै एमालेका देवेन्द्र दाहालले समय लिएर बोल्दै प्रधानमन्त्रीले बोलेको अभिव्यक्ति राष्ट्रलाई नै कमजोर बनाउने खालको भन्दै आपत्ति जनाए । उनले उक्त अभिव्यक्ति आपत्तिजनक रहेकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे ।
मुलुकको प्रधानमन्त्रीको बिषय व्यक्तिगत नभएर देशको स्वाभिमानसँग जोडिएको विषय भएकाले दिल्लीले प्रधानमन्त्री बनाएको अर्थ लाग्ने प्रधानमन्त्रीको अभिव्यक्ति सामान्य नभएको एकालेको ठहर ।
उता प्रधानमन्त्री पुष्पकमल दाहालले प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफुले बोलेको कुरालाई विक्षिप्त भएका विपक्षीले बबण्डर गर्न खोजेको बताएका छन् । बुधबार काठमाडौंको किर्तिपुरमा अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको तेश्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रितम सिंहको पुस्तकमा रहेका बिषयमा आफुले अभिव्यक्ति दिएपनि विपक्षीले बबण्डर गर्न खोजेको आरोप लगाएका हुन् । उनले केहि दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए ।
सिंहले पुस्तकमा लेखिएको बिषयलाई आफुले जस्ताको तस्तै राखेको भएपनि त्यसलाई अतिरञ्जीत गर्न खोजिएको र त्यसले आफुलाई कुनै फरक नपर्ने दाहालको जिकिर छ । उनले अनावश्यक बबण्डरको बेलुन छिटै फुट्नेसमेत बताए ।
सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको भन्दै उनले सरकारको कामदेखेर विपक्षीहरु तर्सिएको बताए ।
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया