नेपालको ब्याटिङ खराब लयमा, दुई वटै अभ्यास खेल हार्दा विश्वकप छनोटको चिन्ता

डीभीजन २ र एसीसी प्रिमियर कप (एसिया कप छनोट)मा उत्कृष्ट प्रदर्शन गरेको नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारी स्वरुपको दुईवटा अभ्यास खेलमा खराब प्रदर्शन गरेको छ । पहिलो खेलमा स्कटल्याण्डसँग पराजित नेपालले आज नेदरल्याण्डसँगको खेल गुमायो । दुई वटै खेलमा नेपालको ब्याटिङ कमजोर देखिएको छ ।
आज दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपालले नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ५७ रनको लक्ष्य नेदरल्यान्ड्सले ५ विकेट गुमाएर ३६ दशमलब १ ओभरमा पूरा गर्यो ।
नेदरल्यान्ड्सको जितमा विस्ली बार्सीले ८८ बलमा ६३ रनको अर्धशतकीय ईनिङ खेले । विक्रमजित सिंहले ४० बलमा २१ रन बनाए । कप्तान स्कट एडवार्डले २२ रन बनाए ।
नेपालका लागि गुलसन झा तथा ललितनारायण राजवंशीले समान २÷२ तथा प्रतिश जिसीले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३६ दशमलब १ ओभरमा अलआउट हुदै १ सय ५६ रन बनायो ।
नेपालका लागि कप्तान रोहित पौडेल सर्वाधिक ३० रन बनाएर आउट भए । गुलसन झाले २४ रन बनाउँदा आरिफ शेखले १८ रन बनाए ।
नेपालका लागि ओपनर आसिफ शेख ४ रनमा आउट भएका थिए । तेस्रो नम्बरमा आएका अर्जुन साउदले पनि ४ रन मात्र बनाए ।
अर्का ओपनर कुशल भुर्तेल ९ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए । भीम सार्कीले १० रन बनाए । प्रतिश जि.शीले १९ तथासोमपाल कामीले १८ रन बनाए ।
नेदरल्यान्ड्सका लागि एल भि भान बीकले ५ तथा शरिज अहमदले १ विकेट लिए ।
यसअघि बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाललाई स्कटल्याण्डले ७ विकेटले हराएको थियो ।
अब नेपाली टोली दक्षिण अफ्रीकाबाटै जिम्बावे जाने छ । अभ्यास खेलको प्रदर्शनले जिम्बावेमा आयोजना हुने विश्वकप छनोट प्रतियोगितामा के हुने हो भन्ने चिन्ता थपिएको छ । छनोटमा १० टोलीको सहभागीता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे,वेस्ट इन्डिज,नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । १८ जुन अर्थात असार ३ मा जिम्बावेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ ।
दोस्रो खेलमा २० जुन अर्थात् असार ५ मा अमेरिकासँग खेल्ने नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।
समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड,ओमान र युएई रहेका छन् ।
आ–आफ्नो समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने छन् ।
सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।
१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगको शीर्ष ८ मा रहि विश्वकप आयोजक भारत,पाकिस्तान, अस्ट्रेलिया,न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया