तपाईको आम्दानी कति छ ?अब तपाईंले कति कर तिर्नुपर्छ ? करको दर यस्तो छ
ललितपुर । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आयकरको सीमा परिवर्तन गरेको छ । २०८०÷८१ को बजेट मार्फत करका विभिन्न दर हेरफेर गरीएको हो । आर्थिक विधेयक २०८० मार्फत सरकारले आयकर सम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । वार्षिक करयोग्य आय २० लाखभन्दा बढी भएका व्यक्तिले तिर्नुपर्ने आयकर बढाइएको छ ।
नयाँ व्यवस्थाले २० लाखभन्दा बढीको वार्षिक करयोग्य आम्दानी भएका व्यक्तिका लागि आयकरको दर परिमार्जन गरिएको छ । २० लाखभन्दा माथि ५० लाखसम्म करयोग्य आयमा ३६ प्रतिशत आयकर लाग्नेछ । यस्तै ५० लाखभन्दा माथिको जुनसुकै करयोग्य आयमा ३९ प्रतिशत कर लाग्नेछ । वार्षिक २० लाखभन्दा कम करयोग्य आय भएका व्यक्तिका लागि भने करको दर यथावत् छ ।
एकल व्यक्तिले पाँच लाखसम्म र दम्पतीको हकमा ६ लाखसम्म करयोग्य आयमा १ प्रतिशत आयकर तिर्नुपर्छ । तर, एकलौटी फर्म दर्ता भएका करदाताको हकमा, निवृत्तभरण बापतको आय, निवृत्तभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा भने १ प्रतिशत आयकर नलाग्ने व्यवस्था उल्लेख गरिएको छ ।
एकल व्यक्तिले पाँच लाखदेखि सात लाखसम्म र दम्पतीको हकमा ६ लाखदेखि आठ लाखसम्मको करयोग्य आयमा १० प्रतिशत आयकर तिर्नुपर्छ । एकल व्यक्तिको हकमा सात लाखदेखि १० लाखसम्म तथा दम्पतीको हकमा आठ लाखदेखि ११ लाखसम्म आयमा २० प्रतिशत आयकर तिर्नुपर्छ । एकल व्यक्तिको हकमा दश लाखदेखि २० लाख र दम्पतीको हकमा ११ लाखदेखि २० लाखसम्म आयमा ३० प्रतिशत आयकर लाग्ने व्यवस्था छ ।
क्याटेगोरी : अड्डामा खोज मिसन, अर्थ/सहकारी, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया