Techie IT
  • २९ पुस २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

रेशम चौधरीको कैद सजाय माफी, सरकारविरुद्व सर्वोच्चमा मुद्वा


काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीसहित ५ सय १ जनाको कैद माफी गरेका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिस अनुसार चौधरीलगायतको कैद माफी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम सरकारको सिफारिसमा चौधरीसहित ४८२ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेका हुन् ।

कैलालीको टीकापुर घटनका दोषी रेशम चौधरी यतिबेला डिल्लीवजार कारागारमा छन् । चौधरीको रिहाइका लागि उनी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले पटक पटक सडक र सदनबाट आबाज उठाउँदै आएको थियो । सत्ता गठबन्धनको एक दल नाउपा यतिबेला सरकारमा छ । नियमित अदालती प्रक्रियाबाट चौधरी रिहा नभएपछि सरकारले आममाफीको बाटो अबलम्बन गरेको हो ।

आइतवारको मन्त्रिपरिषद् बैठकले आम माफिका लागि राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको थियो । सोहि सिफारिशको आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतवारनै चौधरी सहित १९ जनाको कैद मिनाह गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । चौधरीलाई सजाय माफी दिने विषयमा सत्ता गठबन्धनमा यसअघि नै सहमति भइसकेको थियो ।

यसमा प्रमुख प्रतिपक्ष एमाले पनि सकारात्मक छ । जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी बन्दीको सजाय माफ दिने गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफ हुने संवैधानिक व्यवस्था छ । धारा २७६ मा ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्नेछ’ भन्ने व्यवस्था छ । सरकारले प्रष्ट कानुनी आधारमै रेशम रिहाइका लागि सिफारिश गरिएको जनाएको छ ।

रिहाइका लागि केहि दिन अघि डिल्लीबजार कारागार कार्यालयमार्फत चौधरीले महान्यायाधिवक्ता कार्यालयमा पत्राचार गरेका थिए । चौधरीको मुद्दा अन्तिम फैसला भएको हो वा होइन भन्ने विषयमा महान्यायाधिवक्ता कार्यालयलाई पत्र लेखिएको थियो । महान्यायाधिवक्ता कार्यालयले मुद्दा अन्तिम भइसकेको जवाफ कारागारमार्फत रेशम चौधरीलाई पठाएको थियो । चौधरीलाई टिकापूर घटनाको मुख्य योजनाकारका रूपमा जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला गरेको थियो । उक्त फैसलालाई उच्च अदालत दिपायल हुँदै सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।

टीकापुर घटनामा मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायत

उता टीकापुर हत्याकान्डमा तीनवटै तहका अदातलबाट दोषी ठहर भएका चौधरीलाई आम माफी दिने तयारीविरुद्ध मृतककी श्रीमतीले रिट दिएकी छिन् । उक्त घटनामा मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायत रिट लिएर सर्वोच्च पुगेकी हुन् । कडायतले यसअघि राष्ट्रपति कार्यालयमा पनि चौधरीलाई आममाफी नदिन निवेदन दिएकी थिइन् ।

 


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode