ढाकाकुमारको संसद पद रहेन, अब कंसाकारलाई बाटो खुल्यो

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले सांसद पद कायमै राखिपाउ भनि सर्वोच्च अदालतमा हालेको मुद्वामा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । सांसद पदबाट निलम्बन गर्ने पार्टीको निर्णयविरुद्ध सर्वोच्च पुगेका श्रेष्ठको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको हो ।
यसअघि सर्वोच्च अदालतले कंसाकारलाई सांसद पदमा निर्वाचित गर्ने आयोगको निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । गत वैशाख २५ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कंसाकारलाई सांसद पदमा निर्वाचित गर्ने आयोगको निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेका थिए ।
साथै अन्तरिम आदेश निरन्तरताको लागि जेठ ५ गतेको पेसी तोकेका थिए । तर जेठ ५ गते उक्त रिट हेर्न नभ्याइनेमा परेपछि जेठ ८ गतेका लागि अर्को पेसी तोकिएको थियो । जेठ ८ गते पनि उक्त रिट हेर्न नभ्याइनेमा परेपछि जेठ १० गते न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा परेको थियो ।
बुधबारको सुनुवाइपछि सर्वोच्चले श्रेष्ठको मुद्दामा अन्तरिम आदेश जारी नहुने आदेश दिएको हो ।
दुर्गा प्रसाईँसँग रकम माग्दा कुराकानी गरेको अडियो सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद श्रेष्ठलाई बर्खास्त गर्दै उनको स्थानमा विन्दवासिनी कंसाकारलाई सांसद पदमा स्थापित गर्ने निर्णय गरेको थियो । सो निर्णयको प्रति निर्वाचन आयोगलाई बुझाएलगत्तै आयोगले विन्दवासिनी कंसाकारलाई सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र दिएको थियो । तर सांसद कंसाकारले सांसदको शपथ भने गर्न पाएकी थिइनन् ।
यससँगै यसअघिको एक न्यायाधीशको आदेश बदर भएको छ र रास्वपाले सांसद पदमा कंसाकारलाई निर्वाचित गरियोस् भनी पठाएको र सोही पत्रका आधारमा आयोगले निर्वाचित गरिएको भन्ने निर्णय कार्यान्वयनमा जाने भएको छ । अब कंसाकारले सांसदको शपथ गर्न पाउने बाटो खुलेको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया