नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जना दोषी रहेको प्रहरीको ठहर
![](https://www.khojmissionnews.com/wp-content/uploads/2023/05/shararan.jpg)
काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । प्रहरीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्ष निकालेको छ ।
यो प्रकरणमा मुछिएका ३२ जनामध्ये १६ जना प्रहरी हिरासतमा छन् । थप १६ जनालाई फरार प्रतिवादीका रुपमा प्रतिवेदनमा समावेश गरिएको छ ।
पीडितको उजुरीपछि अनुसन्धानको क्रममा नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई प्रहरीले हिरासतमा राखेको छ ।
यसैगरी केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पनि प्रहरी हिरासतमा छन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरज लगायत भने फरार छन् ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै १०६ जना पीडितबाट कम्तिमा २४ करोड रुपैयाँ ठगी भएको उजुरी परेको छ ।
यसअघि सार्वजनिक पद धारण गरेकाहरुलाई भ्रष्टाचारको विषयमा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखि पठाउने राय पनि प्रहरीले दिएको छ । त्यस्तै सार्वजनिक पद धारण गरेका बाहेकको हकमा भने अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखी पठाउने राय पनि प्रहरीले दिएको छ ।
चैत १२ गतेबाट प्रहरील थालेको अनुसन्धान सोमबार पुरा गरी प्रतिवेदन बुझाएको हो । प्रहरीको प्रतिवेदन अध्ययन गरेर अब सरकारी वकिलको कार्यालयले उनीहरुविरुद्ध अदालतमा मुद्दा दायर गर्नेछ । उनीहरुविरुद्ध किर्ते गरेको विषयमा भने मुद्दा चलाउनेबारे प्रतिवदेनमा उल्लेख छैन ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया