शरणार्थी प्रकरणको अनुसन्धान अझै सकिएन, थप ३ दिन म्याद
काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना थप ३ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । आज जिल्ला अदालत काठमाडौँले १६ जनालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकृत दीपक दाहालले जानकारी दिए । प्रहरीले ५ दिनको समय माग गरे पनि अदालतले ३ दिन मात्रै दिएको हो । प्रहरीले अनुसन्धान प्रतिवेदनलाई अन्तिम रुप दिएको छ । भोलि अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेश गर्ने तयारी भइरहेको छ ।
यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राइ लगायत १६ जना पक्राउ परेका छन् । प्रहरीले थप १६ जनालाई फरार सूचीमा राख्दै प्रतिवेदन तयार गरेको छ । प्रहरीले प्रतिवेदन पेश गरेपछि सरकारी वकिलको कार्यालयले आरोप र तथ्यको जाँचबुझ एवम् अनुसन्धान गरि अभियोग दर्ताको प्रक्रिया अघि बढाउने छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया